बैसाख ७ काठमाडौं _यति बेला कोरोनाको महामारीबाट बच्न देश लकडाउनको नीति अनुरुप सामाजिक दूरी कायम गरिरहेको छ । यसरी क्वारेन्टाइनमा घरभित्रै थुनिएर बसिरहेकाहरूमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल “म्युजिक फर पिस” नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जसमा सामाजिक सञ्जाल फेसबुकमार्फत् कलाकारहरूले आफ्ना प्रस्तुति दिनुका साथै दर्शकसँग कुराकानी पनि गर्ने छन् । “म्युजिक फर पिस” भर्चुअल प्रस्तुतिको पहिलो दिन आइतबार १ बजे फेसबुक लाइभमार्फत् क्वारेन्टाइनमा दर्शकलाई मनोरञ्जन दिन आउँदै छिन् गायिका शृङ्खला जोशी ।
गायिका जोशी हाल अस्ट्रेलियामा भएकीले कार्यक्रम १ बजे गरिए पनि दोस्रो दिनबाट भने हरेक दिन ४ बजे नेपाल ग्यालरीको अफिसियल फेसबुक पेज र ग्रुपबाट हेर्न सकिनेछ ।
यो साता गायिका शृङ्खला जोशी, नेपाल आइडल सिजन २ विजेता रबी ओड, नेपाल आइडल प्रतियोगी ममता गुरुङ, गायक टंक तिमिल्सिना, चेतन बोहरा, सुदीप साजन आदि कलाकारहरूको प्रस्तुति रहनेछ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जना प्रेमीमाझ यसको प्रभावकारिता देखिने विश्वास आयोजक टिमले राखेको छ ।
लकडाउनको बेला अधिकांशको समय व्यतीत गर्ने साधन सामाजिक सञ्जाल भएको छ । भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । यसरी लामो समय लकडाउनमा बस्दा आलस्य र मानसिक तनाव नहोस् भन्ने हेतुले नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेको बताइएको छ ।
आजबाट फेसबुकमा ‘म्युजिक फर पिस’ लाइभ मनोरञ्जन
बैसाख ७ काठमाडौं _यति बेला कोरोनाको महामारीबाट बच्न देश लकडाउनको नीति अनुरुप सामाजिक दूरी कायम...