भोलि गढीमाई मेलाको शोभायात्रा, तयारीका लागि सार्वजनिक बिदा
बारा १६ असोज___विश्वप्रसिद्ध धार्मिक मेला गढीमाईको भव्य शोभायात्रा भोली बिहीबार हुने भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक लाग्ने यस मेलाको आयोजक समितिले घटस्थापनाको शुभ अवसरमा शोभायात्रा निकाल्ने निर्णय गरेको हो।
महागढीमाई नगरपालिकाले शोभायात्राको तयारीका लागि आज नगर क्षेत्रभरि सार्वजनिक बिदा दिएको छ। नगरवासीहरू उत्सवको माहोलमा रमाउँदै मेलाको तयारीमा जुटेका छन्।
भोलि बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभायात्रा सुरु हुनेछ। यो यात्रा बरियारपुर, इनर्वा, तेलकुवा, बसतपुर हुँदै नेपाल–भारत सीमा नजिक रहेको मटिअर्वा, शितलपुर, विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर–दहियार हुँदै पुनः गढीमाई मन्दिरमा आएर समापन हुनेछ।
महागढीमाई नगरपालिकाका मेयर एवं मेला व्यवस्थापन समितिका संयोजक उपेन्द्रप्रसाद यादवले यस पटकको मेला अझै भव्य र सभ्य बनाउने लक्ष्य राखिएको बताए। उनले भने, “देशविदेशबाट लाखौँ भक्तजनहरू गढीमाई मेलामा आउने गर्छन्। हामीले यस पटकको मेलालाई ऐतिहासिक बनाउने प्रयास गरेका छौँ।”