बिमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो
भदौ २७ पर्सा___नेपाल बिमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बिमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ। आव २०७९/८० सम्म कूल जनसंख्याको ४४ दशमलव ३८ प्रतिशतमा बिमाको पहुँच पुगेको थियो।
आव २०८०/८१ मा उक्त पहुँचमा संकुचन आउँदै कूल जनसंख्याको ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ।
अघिल्लो आवको तुलनामा गत आवमा मात्रै एक दशमलव ११ प्रतिशतले बिमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए। वीरगञ्जमा आयोजित बिमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रममा निर्देशक सुवेदीले अघिल्लो आवको तुलनामा गत आवमा बिमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको संकट मुख्य कारण रहेको बताए।
‘गत आवमा लघुवित्त र सहकारी क्षेत्रमा धेरै संकट देखापर्यो। यसले लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बिमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको देखिन्छ’, उनले भने।
प्राधिकरणका निर्देशक सुवेदीले आव २०७९/८० को तुलनामा आव गत आवमा कूल जीवनबिमा शुल्कमा भने वृद्धि भएको जानकारी दिए।
आव २०७९/८० मा जीवनबिमा शुल्क एक खर्ब ४२ अर्ब ३६ करोड संकलन भएको थियो। गत आवमा एक खर्ब ५६ अर्ब ५० करोड संकलन भएको छ’, उनले भने, ‘अघिल्लो आवको तुलनामा गत आवमा कूल निर्जीवन बिमा शुल्क पनि दुई दशमलव ८० प्रतिशतले बढेको छ।’
सुवेदीले कूल ग्राहस्थ उत्पादनमा कूल बिमा शुल्कको अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको बताए। उनका अनुसार आव २०७९/८० मा कूल ग्राहस्थ उत्पादनमा तीन दशमलव ४२ प्रतिशत हिस्सा ओगटेको थियो भने आव २०८०/८१ मा तीन दशमलव ४७ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशका अधिकांश भूभाग बाढीपहिरो र आगजनीको उच्च जोखिममा रहेकाले प्रदेश सरकारले सबै जनताको एकमुष्ट जीवनबिमा गर्नुपर्ने धारणा व्यक्त गरे।
‘कर्णाली प्रदेश सरकार आफैँले प्रदेशका १३ लाख नागरिकको बिमा गरिदिएको छ । मधेश प्रदेश सरकारले पनि यहाँका नागरिकको बिमातर्फ ध्यान दिन जरुरी छ’, उनले भने, ‘मधेश प्रदेशका धेरै नागरिक गरिबीको रेखामुनि रहेकाले पनि बिमा गर्न आवश्यक देखिन्छ।’
अध्यक्ष सिलवालले सीमावर्ती जिल्लाका सर्वसाधारणले भारतीय कम्पनीमा बिमा गर्न नहुने बताए। ‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विभिन्न लोभ देखाएर भारतीय कम्पनीमा बिमा गर्ने गलत परिपाटीको अन्त्य हुन जरुरी छ’, उनले भने, ‘त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले बिमाको व्यवस्था गर्नु हावश्यक छ।’
नेपाली बिमा कम्पनीमा बिमा गर्ने विषयमा प्राधिकरण, स्थानीय र प्रदेश सरकारबीच आवश्यक सहजीकरण र समन्वय गरी योजना बनाउनुपर्नेमा अध्यक्ष सिलवालले जोड दिए। ‘भारतीय कम्पनीमा बिमा गर्ने काम नगर्न स्थानीय सबैलाई अनुरोध गर्दछु’, उनले भने।
नेपालमा जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनी १४-१४, पुर्नबिमा कम्पनी दुई र सात वटा लघु बिमा कम्पनी रहेका अध्यक्ष सिलवालले जानकारी दिए।