ज्येष्ठ नागरिकलाई विज्ञापन गुरु पौडेलको तीजको दर
भाद्र १३ काठमाडौं___काठमाडौंको बागमती किनारा, मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न त कोही टोलाउन थाले । सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो, जहाँ हालैमात्र हरितालिका तीज पर्व लक्षित ‘यसपालिको तीज रमाइलो’ गीत बजिरहेको थियो ।
सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु बसोबास गरिरहेका छन् । ‘यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ, तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोलाउने, झुम्मिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ, अधिकारी भन्छन् ।
गीतकार पौडेलको शब्द र गायिका शान्तीश्री परियार तथा संगीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ बोलको गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् ।