मधेश सरकारमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
साउन ३ जनकपुरधाम___ मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
मधेश भवनमा आयोजित एक समारोहबीच उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथग्रहण गराइन् । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह जनमत पार्टीका हुन् । उनले अर्थ मन्त्रालय आफै राख्ने अडान लिएपछि कांग्रेस सरकारमा सहभागी भएको थिएन् । केन्द्रले कांग्रेसलाई अर्थ मन्त्रालय दिने निर्णय गरेसंगै कांग्रेस र लोसपा सरकारमा सहभागी भएका छन् । लोसपाले दुई मन्त्रालय मागेको थियो तर एउटै मन्त्रालयमा चित्त बुझाएको छ ।
आज गरिएको मन्त्रिपरिषद् पुनर्गठनसंगै सरकार पूर्णता पाएको छ । लोसपाकी रानी शर्माले पाएको शिक्षा तथा संस्कृति मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । लेखीलाई आज गृह तथा संचार मन्त्रालय तोकिएको छ । यस्तै जनमतबाट विना विभागिय मन्त्री बनेका सकिल मियालाई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय तोकिएको छ ।