देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा ‘रेडअलर्ट’ जारी
असाढ़ २१ इकाठमाण्डौं ___ देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने छ । मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको महाशाखाले जनाएको हो । आज दिउँसो कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।