युक्रेनको थर्मल पावर प्लान्ट (टिपिपी) रुसी मिसाइल हमलामा ध्वस्त
चैत्र १८ किएभ___युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ । मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।
मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकू ड्रोन प्रहार गरेको बताइएको छ । यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।
रुसी रक्षा मन्त्रालयले मार्च २२ मा एक विज्ञप्तिमा आफ्नो सेनाले सो दिन युक्रेनमा ऊर्जा र सैन्य सुविधाहरूमा ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको तथा ठूलो मात्रामा हमलाका सबै लक्ष्य हासिल गरेको बताएको छ ।