मुलुकभर पश्चिमी वायुको प्रभाव, आज राति अधिकांश स्थानमा वर्षा
माघ २० काठमाडौं___ नेपालको मौसममा अहिले पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मुलुकभरको मौसम प्रभावित हुने भएको हो । यसकै प्रभावका कारण पश्चिमी क्षेत्रबाट बादल लाग्न थालेको छ । बादल लाग्ने क्रम पूर्व सर्दै आएको महाशाखाले जनाएको छ ।
बादल लाग्ने प्रणाली सक्रिय भइरहेकाले भोलि वर्षाको सम्भाावना अधिक रहेको महाशाखाको भनाई छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज राति वर्षा हुने छ । मधेसबाहेक अरू प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । मधेस प्रदेशमा भने विहानी पख हुस्सु लागेपनि वर्षाको सम्भावना भने नरहेको बताइएको छ ।
काठमाडौंमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । काठमाडौंमा शनिबार रातिदेखि आंशिक बदली र आइतबार वर्षा हुने मौसमवीद रोजन लामिछानेले बताए । उनका अनुसार भोलि आइतबार दिउँसो काठमाडौंमा हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी वायुको प्रभाव आइतबार रातिसम्म रहने र सोमबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमवीद् लामिछानेले बताए । पानी पर्ने भएकाले आइतबार देशभर चिसो बढ्ने छ । वर्षा रोकिएसँगै विस्तारै तापक्रम बढ्दै जाने छ ।