दरबार हत्या काण्डबारे प्रधानमन्त्रीले विचार नपुर्याई बोल्नुभयो, मसँग सोधे हुन्थ्यो : माधव नेपाल
वीरगंज;१८ माघ____ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुसष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जनकपुरमा बिहीबार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्याई भनेको बताए । उनले गम्भीर कुराहरूमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए ।
उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ ।’
अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरे ।