आठ हजार घुस लिने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगंज;१५माघ____ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित नियन्त्रणमा लिइएको मोटरसाइकल छुटाइदिने भनी आठ हजार रुपैयाँ घुस लिएका भण्डारीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार भण्डारीलाई आठ हजार रुपैयाँ घुससहित पुस २५ गते पक्राउ गरिएको थियो । उनले आठ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को ३ को उपदफा (१) बमोजिमको कसुरमा आठ हजार रुपैंयाँ विगो कायमगरी भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए ।