महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन सम्पन्न
माघ ८ वीरगंज ___ आज एक कार्यक्रमको बिच बारा जिल्लाको महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि माननीय अर्थ मन्त्री डा. प्रकाश शरण महतज्यू द्वारा पानसमा बत्ती बाली स्वर्गिय महान नेता नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री श्री विश्वेश्वर प्रसाद कोइरालाज्यूको फोटोमा माल्यार्पण गरि औपचारिक रुपमा सुरुवात गर्नु भएको थियो ।
नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बाराका किसानलाई सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने बताए । उनले बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना रहेको बताए । उनले भने, ‘कृषिका कारणले मात्र बारा महत्त्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’