उदयपुरका एकजनामा मंगलबार कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुग्यो
बैसाख ९ काठमाडौं_नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका एकजनामा मंगलबार कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो ।
उदयपुरबाट संकलन गरिएको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भएको नियमित पत्रकार सम्मेलनमा बताए ।
उदयपुरबाट सोमबार १ सयसहित ३ सय २० नमुना पीसीआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगन्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।
ती नमुनाहरूको टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगन्जलाई लक्षित गरी ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ । चार संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म ३६ हजार ७ सय १९ नमुना परीक्षण भएका छन् । पीसीआर र आरडीटी विधिबाट सो परीमाणमा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ३ सय ३३ परीक्षण भएका छन् ।
यसैगरी आरडीटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुवै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आरडीटी विधिबाट २ हजार ६ सय २०, प्रदेश २ मा ३ हजार ५ सय ९८ र वागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदूरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
अहिले देशैभर क्वारेन्टाइनमा ७ हजार ६७ जना छन् । उपत्यकामा ६ र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा छन् ।