बिहानैदेखि झरी, दिनभर कस्तो रहन्छ मौसम?
काठमाडौँ – देशभरको मौसम बदली भएको र विभिन्न स्थानमा मंगलबार बिहानैदेखि मेघ गर्जन तथा चट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु र पश्चिमी वायुकाको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
प्रदेश एक र सुदूरपश्चिम प्रदेशमा अहिले मौसम बदली भए पनि पानी त्यति परेको छैन । देशका बाँकी क्षेत्रमा भने चट्याङ्ग तथा वर्षा गराउने बादल सक्रिय रहेकाले पानी परेको छ ।
यो क्रम केही घण्टा जारी रहने छ । बादल पूर्वतिर सर्दै गएकाले पूर्वी क्षेत्रमा पनि मौसम बदली भइ हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षा हुनेछ ।