आज बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौँ । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार बैठकका एजेण्डाबारे नखुलाए पनि नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने ति मन्त्रीले बताए ।
‘अझै एकहप्ता बाँकी रहेकाले त्यसबारे अर्को बैठकमा छलफल हुन्छ, आजको बैठकमा भइरहेका कामकारवाहीबारे नै छलफल हुनसक्छ । भइरहेका कामकारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने नै मुख्य विषय हो’, ती मन्त्रीको भनाइ छ ।
स्रोतका अनुसार आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले आइतबार सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा लकडाउन हटोस् भन्ने पक्षमा आफू रहेको तर त्यसभन्दा अगाडि कोरोना हटाउनुपर्ने बताएका थिए ।