जनकपुरमा कोरोना फैलिन नदिन मेयर साह सक्रिय
बैसाख ७ जनकपुरधाम _ पछिल्लो समय कोरोना भाईरस (कोभिड १९) संक्रमित नेपालमा एकाएक बढ्न थालेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साह सक्रिय भएका छन् । प्रदेश २ का अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरलाई यस भाईरसको संक्रमणबाट बचाउन नगर प्रमख साह सक्रिय भएका हुन् ।
दुई दिन अगाडी जनकपुरको महाविर चोकमा पैसामा थुक लगाई फालिएको घटना र सो को आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बाट दुईजना महिला पक्राउ परेपछि नगर प्रमुख साहले आफ्नो सक्रियता बढाएका हुन् । नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिका भित्र कुनै पनि बहानामा कोरोनाको संक्रमण फैलिन दिन नहुने प्रति सचेत भएका हुन् ।
त्यसकै तयारी स्वरुप नगर प्रमुख साहले आईतबार जनकपुरधाम वडा नं. ७ मा नै बैठक राखेर यसप्रति सचेत हुन सबैलाई आग्रह गर्दै यसबाट बच्न उपमहानगरले आवश्यक कदम उठाईसकेको जानकारी गराए । त्यस्तै वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले वडाभरि स्यानिटाईजर छर्केर वडालाई स्यानिटाईज गरिरहेको कार्यको प्रशंसा गरे । उनले वडाध्यक्ष साह स्वयं आफैँ अग्रसर भएर गरिरहेको कार्यको प्रशंसा गर्दै उपमहानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पछिल्लो समय नगर प्रमुख साह उपमहानगरलाई स्यानिटाईज गर्ने कार्य र उपमहानगर भित्रका विपन्नहरुलाई राहत व्यवस्थापनका लागि जुटेका छन् । उपमहानर भित्रका विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्यको तयारी करिब करिब अन्तिम चरणमा पुगिसकेको र सकभर छिट्टै राहत वितरण गरिने नगर प्रमुख साहले बताएका छन् । त्यस्तै नगर प्रमुख साहले विपद व्यवस्थापन कोषमा आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपैँया सहयोग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रिय वाणिज्य बैँकमा खाता खोली विपद व्यवस्थापन कोष सुरु गरेको छ । जसमा नगर प्रमुख साहले व्यक्तिगत ५१ हजार रुपैँया सहयोग गरेका छन् ।