काठमाडौंमा कोठाभित्र रासन पानी सकियो भने, कहाँबाट र कसरी ल्याउने भन्ने निक्कै चिन्ता सताउन थालेको छ…..निरु मगर
काठमाडौंमा कोठा लिएर पढ्न थालेको तीन बर्ष पुरा भयो । यतिबेला पनि ललितपुर टीकाथली कोठाको एकान्तबासमै छु । बितेका तीन बर्षहरुका दिनहरु कसरी बिताए थाहा नै भएन । तर आज कोरोना कहरमा कोठाभित्रको एकान्तबास निक्कै अपठ्यारो महसुस गरेर दिनहरु बिताई रहेकी छु । केही दिन अगाडि मात्र घरबाट काठमाडौ पुगेको दश दिनपछि नेपाल सरकारले लकडाउन गरपछि आफ्नै कोठाभित्रको स्वैच्छिक कैदी सरह दिन बिताइ रहेकी छु । केही दिन अगाडि पसलबाट ल्याएर बचेको र गाउँ बाट काठमाडौं आउँदा घरबाट ल्याएर आएको सामलले अहिलेसम्म साँझ बिहानको छाँक टार्न भ्याएकी छु । एक दिन बिराएर गाडीले ल्याउछ र तेहि पानी किनेर पिउने गर्छु । किनेकै पानीले खाना पकाउन र भाँडा माँझ्न पुर्याउने गरेकी छु ।
स्वास्थ्य सेवा तर्फको लोकसेवा आयोगका तयारी कक्षा लिएर आयोग नाम निकाल्नु मेरो मुख्य उदेश्य हो । तर, दिनभरी कोठाभित्रै बसेर पढ्नका लागि कुनै पनि म संग स्वास्थ्य बिषयका प्रयाप्त पुस्तकहरु छन् । नत सम्बन्धित बिषयमा छलफल तथा अन्तरक्रिया गर्ने साथि नै छन् । केवल मसंग एउटा मोबाइल छ । घरभेटीले जोडेको वाईफाई छ । दिनभरी मोबाईल चलाउछु । इन्टरनेटको सहायताले फेसबुकबाटै साथीहरुसंग कुरा गर्छु । कोरोना कहरले सृजना गरेको देश तथा बिदेशका घटनाक्रमको हेर्दै दिन बिताउछु ।
सायद गाउँबाट काठमाडौं भखरै भएर होला, लकडाउन भएको सुरु–सुरुको दैनिक जेनतेन घरमा आमा–बुवासंग फोन सम्पर्क गर्ने गरेकी थिए, आमा–बुवाले कोठाभित्रै सुरक्षित रहेर बस्नु भनेर सम्झाउनु हुन्थ्यो, आजभोली मोबाईल रिचार्ज गर्नलाई गोजीपनि खाली भएर होला, घरमा आमा–बुवालाई मैले फोन गर्न पाएकी छैन केहि बिराएर घरबाटै आमा–बुवाले फोन गर्नु हुन्छ । हिजो आज फोनमा आमा–बुवाले बच्नको लागि कोठामै सुरक्षित बस्नु भनेर सम्झाउदा पनि निक्कै भाबुक हुन्छु झन आमाबुबाको याद आउँदा त मुख छोपेर रुन थाल्छु । सायद यो कोरोनाको महामारी कहिलेसम्म चलिरहने हो भन्ने निश्चित नभएरपनि होला, आमा–बुवाले छोरीको लागी गरेको चिन्ताप्रति गाह्रो लाग्न थालेको । एउटी नारी भएर पनि होला, महिनौंसम्म कोठाभित्रको एक्लो बन्दी भएर बस्नु परेकोमा एक्लो महसुस गर्न थालेको । केहि दिन पछि
कोठाभित्र रासन पानी सकियो भने, कहाँबाट र कसरी ल्याउने भन्ने निक्कै चिन्ता सताउन थालेको छ ।
यो महामारीको लकडाउन अझै कति लामो हुदै जाने हो । समयको अत्तोपत्तो नहुदा झनै मन आत्तिएर आउँछ । प्रयाप्त आबश्यक पुस्तक बीना एउटा मोबाईलको भरमा कोठाभित्र गरिएको एक्लो अध्ययनले स्वास्थ्य क्षेत्रको लोकसेवा आयोग पढाई के पुरा होलार ? आफैले आफैलाइ प्रश्न गर्ने गरेकी छु लोकसेवा भन्दा सरकार जागीर खाने सोच्ने गर्छु तर कोरोनाले हजारौंको ज्यान गएको समाचार हर्दा झनै चिन्ता लाग्ने गरेको छ ।
एक मनले चिन्ता लाग्ने गरेपनि, अर्को मनले कतै मैले पढेकी थिए–‘विश्व मानव ईतिहासमा मान्छेहरु भोकले भन्दा पनि बढि रोगले मरेका छन् ।’ भन्ने हरफलाई सम्झिने गर्छु र रोग व्याधीबाट बच्न सकियो भने, कसो कोठाभित्र भोक मरिएला कि भन्ने डर पनि लाग्छ । बच्न त बचिएला कि भनेर चित्त बुझाउने गरेकी छु । रोग र व्याधीबाट बच्न सकियो भने, यसबर्ष लोकसेवा आयोगको पढाई पुरा गर्न नसकिए पनि आगामी बर्षमा त पुरा गरौला भनेर चित्त मन बुझाउने गरेकी छु । जय एकान्बासले सबैको कल्याण गरोस ।
निरु मगर ठेगाना : नलगाढ नगरपालिका वडा न १ जाजरकोट हाल : महालक्ष्मी न.पा.६ ललितपुर