आज भेटिएका ६५ वर्षीय कोरोना संक्रमित पुरुष पनि उदयपुरकै मस्जिदका
बैसाख ६ काठमाण्डौ _ शनिबार भेटिएका ६५ वर्षीय कोरोना संक्रमित पुरुष उदयपुरकै मस्जिदको रहेको खुलेको छ। हिजो मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना देखिएको थियो। बाँकी चारजनाको पुनः परीक्षण गरिएकोमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू अहिले मोरङको टाँडीस्थित क्वारेन्टिनमा छन्। संक्रमित पुरुषलाई क्वारेन्टाइनबाट भोलि अस्पताल ल्याइने कोसी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए।
‘आजको संक्रमित पनि मस्जिदमै रहेका एक जना हुन्। उहाँलाई भोलि भर्ना गर्नको लागि सबै कुरा व्यवस्थित गरेका छौं,’ उनले भने। मोरङ, सुनसरी, सप्तरी हुँदै चैतको पहिलो साता उदयपुरको भुल्केस्थित मस्जिद आइपुगेका उनीहरूको गत बुधाबार र्यापिड टेस्ट किटबाट परीक्षण गरिएको थियो। जसमा १६ जनाकै नतिजा नेगेटिभ देखिएको थियो। तर पिसिआर परीक्षणमा १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
संक्रमित १२ जना लाई हिजै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। नयाँ संक्रमितलाई पनि सोही अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ। हिजो आएको नतिजामा चारजनामा नेगेटिभ देखिएपछि उनीहरूलाई क्वारेन्टाइनमा पठाइएको थियो। सरकारले कोरोना भेटिएको उदयपुरको बस्तीलाई सिल गरेको छ। आज बस्तीमा रहेका ६९ जनाको कोरोना परीक्षणको लागि स्वाब विराटनगर पठाइएको छ।