प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीरगन्जमा रहेका औषधि पसलहरु शनिबार दिउँसो देखि बन्द
वीरगन्ज : प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीरगन्जमा रहेका औषधि पसलहरु शनिबार दिउँसो देखि बन्द गरिएको छ। प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाउँदै औषधि व्यापारी र पसलेहरुले वीरगन्जका सबै औषधि पसलहरु शनिबार दिउँसो साढे २ बजेदेखि बन्द गरेका हुन्।
लकडाउनमा सरकार र स्थानीय प्रशासनले औषधि पसलहरु २४ सै घण्टा खुल्ला राख्न निर्देशन नै दिए पनि उनीहरुले पसल नै बन्द गरि दिएका हुन्। नेपाल औषधि व्यवसायी संघका अनुसार वीरगन्जमा खुद्रा र थोकका गरि २ सय २९ औषधि पसल छन्। शनिबार दिउँसो माइस्थानचोकमा नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारीको मोटरसाइकल प्रहरीले खोसेपछि त्यसैको विरोधमा पसले र व्यपारीहरुले दिउँसो साढे २ बजेदेखि औषधि पसलहरु बन्द गरेका हुन्।
घरको सरसामान किनमेल गरेर पसल खोल्न जाने क्रममा माइस्थान चोकमा प्रहरीले आफनो मोटरसाइकल खोसेर नियन्त्रणमा लिएको अध्यक्ष अन्सारीले बताए।
बिहान ११ बजेदेखि किसान पसलहरु खुलेपछि घरको सामान किनेर पसल खोल्न जाँदै थिएँ , उनले भने ,’तर प्रहरीले रोकेर मोटरसाइकल नियन्त्रणमा लियो , संघको परिचयपत्र देखाउँदा पनि मानेन। औषधि व्यवसायी संघको परिचयपत्र देखाउँदा पनि प्रहरीले ठाँउ ठाउँमा रोकेर दुर्व्यवहार गर्दै पसल खोल्न जान नदिएपछि त्यसैको विरोधमा सबै औषधि पसलहरु बन्द गरिएको संघका नारायणी अन्चल शाखाका महासचिव पप्पु झाले बताए।
यसअघि लकडाउनमा घरबाट पसल खोल्न जाने औषधि पसले र पसलमा काम गर्ने कर्मचारीलाई प्रहरीले बाटोमा अवरोध गरेको थिएन झाले भने ,’तर शनिबार भने अध्यक्ष अन्सारीलाई मात्र नभइ अन्य औषधि पसलेलाई पनि प्रहरीले बाटोमै रोकेर फिर्ता पठाइ दिन थालेको छ। विर्तामा रहेको अशोक फर्मासुयटिकल्सका सञ्चालक रत्नेश कुमार गुप्ताले पनि शनिबार घरबाट मोटरसाइकलमा पसल खोल्न जाने क्रममा पावरहाउस चोकमा प्रहरीले रोकेर दुर्व्यवहार गर्दै फिर्ता पठाइ दिएको गुनासो गरे। संघको परिपचयपत्र देखाउदा पनि प्रहरीले नमानेको उनले बताए।
संघका महासचिव झाका अनुसार सवारी पासका लागि लकडाउन शुरु भएकै दिन चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा जादा प्रहरी उपरिक्षक गंगा पन्तले संघकै परिचयपत्रलाई पासको रुपमा मान्यता दिने बताएकी थिइन्। तर शनिबारदेखि भने प्रहरीले सवारी पास खोजेर बाटोमा अवरोध गर्दै दुर्व्यवहार पनि गर्न थालेकाले पसलहरु बन्द गरिएको झाले बताए। ‘यस्तो महामारीको संक्रमणमा सबै घर बसेका छन्। तर हामी आफनो ज्यान जोखिममा राखेर जनतालाई सेवा दिइरहेका छौं , झाले भने ,’ घरबाट पसल हिँडेर जान सकिने अवस्था छैन्। मोटरसाइकलमा जाँदा प्रहरीले रोकेर फिर्ता पठाइ दिन थालेको छ। यस्तो अवस्थामा पसल खोल्न सक्ने अवस्था नै छैन्।’औषधि पसलका सञ्चालक र काम गर्ने कर्मचारीलाई घरबाट पसलसम्म जाने सहज वातावरण नभएसम्म पसलहरु बन्द नै रहने उनले बताए। पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले भने औषधि पसलेहरुले लकडाउनमा पाएको सहुलियतको दुरुपयोग गरेको बताइन्। औषधि पसल खोल्न जाँदा नभइ अरु कामका लागि मोटरसाइकलमा हिँडेर लकडाउन उल्लंघन गरेकाले त्यस्ता पसलेहरुको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको उनले बताइन्। उनले भनिन् ,’ औषधि पसलेहरुले पसल नखोले अर्को विकल्प खोजिन्छ तर प्रहरी आफनो कदमबाट पछाडि हट्दैन।
श्रोत अनपूर्ण पोस्ट