उदयपुरका १२ कोरोना संक्रमितलाई विराटनगर लगिदै
बैसाख ५ वीरगंज _ उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितलाई विराटनगरको अस्पताल पठाउने तयारी भइरहेको छ। शुक्रबार मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूलाई आजै विराटनगरको कुनै अस्पताल पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।
‘हामी छलफल गर्दैछौं। कुन अस्पतालमा आइसोलेसन कति खाली छ भनेर बुझ्दैछौं। यहाँबाट विराटनगर नै पठाउने कुरा भएको छ,’ उनले भने। भट्टराईका अनुसार उनीहरू मोरङ, सुनसरी, सप्तरी हुँदै गत चैत ७ गते उदयपुर आएका थिए। संक्रमितहरूको थप विवरण लिने काम भइरहेको छ। उनीहरू अहिले मस्जिदमै छन्।
बुधबार उनीको स्वाब परीक्षणको लागि विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। आज एकैदिन १६ जनालाई कोरोना संक्रमित देखिएको छ। आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई जनालाई पनि कोरोना संक्रमण देखिएको छ। गत चैत ३ गते उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।