करिब डेढ किलोमिटरको दूरीमा एक पोस्ट रहने गरी सीमा नाकाको सुरक्षाका लागि थप जनशक्ति परिचालित
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले नाका सुरक्षामा झनै कडाइ गरेको छ । सीमा नाकामा स्थायी रूपमा सशस्त्र प्रहरीका १ सय २० बीओपी सञ्चालनमा रहेकामा भारततर्फ संक्रमण बढ्दै जाँदा थप १ हजार १ सय १ अस्थायी चेक पोस्ट खडा गरी नाकाको सुरक्षामा झनै कडाइ गरिएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले डेढ किलोमिटरको दूरीमा एउटा पोस्ट रहने गरी सीमा नाकाको सुरक्षाका लागि थप जनशक्ति खटाइएको बताए ।
‘करिब डेढ किलोमिटरको दूरीमा एक पोस्ट रहने गरी सीमा नाकाको सुरक्षाका लागि थप जनशक्ति खटाइएको छ । स्थायी बीओपीसहित गरी हालसम्म १ हजार २ सय २१ चेक प्वाइन्ट राखिएको छ,’ डीआईजी श्रेष्ठले राजधानीसँग भने ।
सीमा नाकामा सुरक्षाका लागि मात्रै पहिले सामान्य अवस्थामा १४ हजार २ सय ६३ जनशक्ति खटाइएकामा हाल सो संख्यामा ८ हजार ३ सय ८३ जनशक्ति बढाएर २२ हजार ६ सय ४६ जना खटाइएको डीआईजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सो संख्या अझै बढाउने सशस्त्रको तयारी छ । शुक्रबार थप १ हजार १ सय ५ जना प्रदेश १, २ र ५ का भारतसँगका नाकामा थप गरिने श्रेष्ठले जानकारी दिए ।
खुला सिमानाका कारण भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरीले अस्थायी चेक पोस्टमा केन्द्रबाटै जनशक्ति पठाएको हो ।
सीमा नाका बन्द रहेको अवस्थामा नाकाबाट हुन सक्ने मानिसको प्रवेशलाई रोक्न थप जनशक्ति पठाएर अस्थायी चेक पोस्ट स्थापना गरिएको हो । त्यसका लागि काठमाडौंका तालिमकेन्द्र तथा बाहिनीहरूमा रहेका रिजर्भ फोर्स तथा तालिम सकेर बसेका जनशक्ति पठाइएको छ ।
सशस्त्र प्रहरीको स्थायी बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना खटिँदै आएका छन् भने अस्थायी चेक पोस्टहरू सई, असई तथा वरिष्ठ हबलदारको कमान्डमा राखिएको छ । सशस्त्र प्रहरीतर्फबाट देशभर गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि २९ हजार ५ सय जनशक्ति खटाइएको डीआईजी श्रेष्ठले जानकारी दिए ।
यसैगरी, नेपाल प्रहरीका ४ हजार ६ सय ६४ जना सीमा नाकाको सुरक्षामा खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले नेपाल प्रहरीतर्फबाट सीमा नाकाको निगरानीमा पैदल तथा सवारी गस्तीसमेत भइरहेको जानकारी दिए ।
सरकारले खुला सीमा नै संक्रमणको मुख्य जोखिम भएकाले दुवै देशका नागरिक जहाँको सिमामा रोकिएको भए पनि सम्बन्धित देशको सरकारकै व्यवस्थापनमा रहने गरी व्यवस्थापन गरिएको दाबी गर्दै आएको छ ।
नेपालको भारततर्फ १ हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ । सरकारी तथ्यांकअनुसार भारततर्फका सीमामा आएर २ हजार र नेपालतर्फ ७ सय भारतीय रोकिएका छन् ।