डाक्टर कुटपिट गर्नेलाई छानबिन गरी कारबाही गर्न चिकित्सक संघको माग
काठमाडौं- नेपाल चिकित्सक संघले ड्युटीबाट फर्किएका डाक्टरमाथि प्रहरीबाट भएको लाठीचार्ज र कुटपिटको विरोध गर्दै छानबिन र कारबाहीको माग गरेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो।
‘प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविलम्ब त्यस्ता प्रहरीहरुको छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दछ। संघले सरकारलाई चैत २२ गतेको मन्त्रिपरिषद्को निर्णय सम्झाउँदै कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी समेत दिएको छ।
सरकारले चैत २२ गते कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई विरोध गर्ने व्यक्तिलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको थियो। तर, बुधबार त्रिवि शिक्षण अस्पतालका दुई र कान्ति बाल अस्पतालका एक डाक्टरमाथि प्रहरीले लाठी प्रहार गरेपछि संघले उक्त निर्णय सम्झाउँदै कारबाहीको माग गरेको हो।
सरकारले चैत २२ गते गरेको निर्णयको मसी सुक्न नपाउँदै यस्तो दुखद र निन्दनीय घटना हुनुले संघलाई स्तब्ध तुल्याएको उसको भनाई छ।