प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गरे प्रदेशसभाका सभामुख र उपसभामुख संग छलफल
बैसाख ३ काठमाण्डौ _ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रदेशसभाका सभामुख र उपसभामुख संग छलफल गरेका छन । सभामुख सापकोटासँगको छलफलमा लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वाथ्यकर्मीको उपलब्धता र संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहमतिमा अंगीकार गरिनेमा सबै सहमत भएका छन् ।
प्रदेश सभामुखहरूसँगको छलफलमा सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरूलाई राखिएको क्वारेन्टाइन तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधिको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदुरका लागि खाद्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिएका थिए । छलफलका क्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट व्यवस्थापन गरिएको बताए । उनले संघीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाइ गरिएको बताए ।
प्रदेश २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि संघीय सरकारका गृह मन्त्रालयमार्फत समन्वय गरिदिन संघीय संसद्का सभामुख सापकोटासँग आग्रह गरेका थिए । खुला सीमाका कारण प्रदेश २ मा जोखिम बढ्न सक्नेतर्फ आफूहरू सतर्क रहेको यादवले जानकारी दिए । यस्तै, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिइएको बताए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक क्वारेन्टाइनमा बस्ने र परीक्षणको काम भइरहेको बताए ।
प्रदेश ५ का सभामुख पूर्णबहादुुर घर्तीले लकडाउनको पालनालाई कडाइ गरिएको जानकारी गराए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताए । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले लकडाउनको सुरुवाती दिनमा भारतबाट फर्किएका नागरिकलाई व्यवस्थापनमा कठिनाइ भए पनि हाल सहज भएको बताए ।
सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखहरूसँग पनि छलफल गरी प्रदेशको वस्तुस्थितबारे जानकारी लिएका छन् । टेलिफोन छलफलमा उपसभामुखहरूले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए । प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश २ का उपमा देव, बाग्मती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, प्रदेश ५ का कृष्णी थारू, कर्णालीका पुष्पा घर्ती र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालसँग छलफल गरिएको थियो ।