सीके राउतले आज घण्टी बजाएर कोरोना भाइरसविरूद्ध दिए एकताको सन्देश
बैसाख २ वीरगंज _ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज घण्टी बजाएर कोरोना भाइरसविरूद्ध एकताको सन्देश दिएका छन्। जनकपुरस्थित घरमै अध्यक्ष राउतले विहान ७ बजे ७ मिनेटसम्म घण्टी बजाएका हुन्। उनले कोरोना भाइरसविरूद्ध लडिरहेका चिकित्सक, सुरक्षाकर्मीसहितलाई धन्यवाद ज्ञापन गर्न र एकताको सन्देश दिन जनमत पार्टीले मधेसका जनतासँग एकताको आह्वान गरेको थियो।
पार्टीको आह्वान बमोजिम मधेसका जिल्लाहरुमा समेत ताली, थाली, शंख, घन्टी, सिटी, ढ़ोल, मादल बजाइएको हो। विशेष गरी राउतका नेता तथा कार्यकर्ता भएको गाउँमा सर्वसाधारणले घण्टी बजाएका छन्। डा. राउतले कोरोना भाइरसबाट जोगिन पटक-पटक साबुन-पानीले हाथ धुनसमेत अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यथासम्भव घरभित्रै बसौं, लक-डाउनको पालन गरौं।’ उनले बाहिर निस्किनै परे भौतिक दूरी बनाएर मात्रै निस्किन जनतासँग आग्रह गरेका हुन्।