कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारीमा सरकार
बैसाख २ काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु लकडाउन थप्ने तयारीमा सरकार रहेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ । मन्त्रीपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्ने छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ ।
तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो ।
काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो । नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ।
यसै गरी काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।
उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ।