भारतीय सञ्चारमाध्यमले जालिम मियाँको नाम भाइरल बनाउने षड्यन्त्र गरिरहेका छन्
भारतीय सञ्चारमाध्यमले जालिम मियाँको नाम भाइरल बनाउने षड्यन्त्र गरिरहेका छन्
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम (मुखिया) मियाँले भारतीय सञ्चारमाध्यमले प्रशारण गरेको समाचारप्रति आपत्ति जनाउनुभएको छ।भारतीय सञ्चारमाध्यमले मियाँको नाम किटेरै भारतमा कोरोनाको संक्रमण फैलाउन यसको शंकास्पद बिरामी पठाएको भनेर खबर प्रशारण गरेका छन्।भारतीय सञ्चारमाध्यममा अहिले यो विषयले चर्चा पाइरहेको छ।आफू स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको भन्दै यसमा कुनै पनि सत्यता नरहेको मियाँले बताउनुभयो।आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा पनि यसबारे जानकारी लिने बताउनुभयो।अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माग गर्ने पनि बताउनुभयो।भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।जिल्ला अध्यक्ष विश्वास भाजनले पठाएको गोप्य पत्रमा मियाँ हतियारको अबैध कारोबारी तथा जालि नोटको कारोबारीमा समेत संलग्न रहेको दावी गरिएको छ।यसअघि एसएसबीले जिल्ला अध्यक्षलाई पत्र लेख्दै जालिम मुखियाले कोरोनाको शंकास्पद बिरामी भारत पठाएको भन्दै गोप्य जानकारी गराएको थियो।एसएसबी र जिल्ला अध्यक्षको पत्रको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले जालिम मियाँले भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र गरिरहेको भन्दै समाचार प्रशारण गरिरहेका छन् ।