वीरगंजमा स्थानीय प्रशासन द्वारा लकडाउनमा कडाइ
बैसाख १ वीरगंज : वीरगंजमा ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेको छ। लकडाउन पालना गराउन सुरक्षा संयन्त्र लागि परेको छ।
वीरगंजको घण्टाघर, माइस्थान, आदर्शनगर, नारायणी अस्प्ताल क्षेत्र, पावर हाउस, गण्डक तथा वीरगंज शहरमा प्रवेश गर्ने विभिन्न चोक र गल्लीमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रशासनको अनुसार वीरगंज-२ छपकैयाको सीमा क्षेत्रलाई सिल गरी सुरक्षा अवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले वीरगंजमा कोरोना संक्रमित भेटिएपछि माथिल्लो निकायको निर्देशन अनुसार सुरक्षा कडा पारिएको बताए।
‘केन्द्र सरकारकै निर्देशन छ, लकडाउनको वास्तविक अर्थलाई नपहिल्याए वीरगंजमा कोरोना रोगी बढने जोखिम छ। त्यसकारण सुरक्षा सतर्कता अपनाइएको हो’, उनले भने, ‘केही दिन दुःख भोगेर ज्यान जोगाउन बाहेक अरु कुनै विकल्प छैन, नगरवासीले यस्तो संकटमा साथ दिनुपर्छ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र बहादर शाहीले ९ सयको हाराहारीमा पर्सामा नेपाल प्रहरी परिचालन गरिएको बताए। उनले आकस्मिक काम बाहेक घरबाट ननिस्किन सर्वसाधारणलाई अपिल समेत गरेका छन्। वीरगंजको मिना बजार, विर्ता बजार तथा मुर्लीलगायत तरकारी बजारहरु यस अघि दुई दिन अगावै पूर्ण रुपमा बन्द गरिएको छ भने आज विहानदेखि खद्यान्न र औषधी पसल पनि बन्द गरिएको पाइएको छ।
ग्रामीण भेगमा सोमवार नयाँ वर्षको अवसरमा ठाउँठाउँमा खसीबोका काट्नेहरुको भिडभाड देखिए तापनि दिउँसोदेखि गाउँको सडक र टोलहरु पनि सुनसान छन्। विशेष गरी बिहान र साँझ सर्वसाधारणले टोल तथा छरछिमेकमा भिडभाड गरिरहेको पाइएको छ।