लकडाउनको आज २१ औं दिन, नयाँ वर्षमा पनि सडकहरु सुनसान
बैसाख १ काठमाडौं _लकडाउनको आज २१ औं दिन हो । गत चैत ११ देखि जारी लकडाउन आज नयाँ वर्षमा पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् ।
अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य गाडीहरु चलेका छैनन् । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ ।
नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लकडाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउन थप गरेको छ ।
सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरेको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक गत सोमबार बैशाख ३ गतेसम्म लकडाउनको अवधि थपेको छ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । बैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था पनि बन्द गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म १३ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको विभिन्न ठाउँमा उपचार भइरहेको छ ।
उता छिमेकी देश भारतमा संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि लकडाउन लम्बिन सक्ने देखिएको छ । यस अवधिमा दैनिक ज्यालादारी गर्ने मजदूर र सर्वसाधारण समस्यामा परेका छन् । सरकारले विपन्न वर्गलाई दिने भनिएको राहत पनि सम्पन्न वर्गकै हातमा पुगेपछि मजदूरवर्गलाई समस्या थपिएको हो ।
सरकारले लकडाउनको समय मात्र थप्ने र सर्वसाधारणका लागि अतिआवश्यक सामान खरिदका लागि समय नतोकिदिए पछि बिहान, बेलुका सर्बसाधारण आफैंले पसलहरु खुलाउन थालेका छन् ।
उता गाउँबाट आउने दुध र तरकारी जस्ता कृषि उत्पादनहरु पनि बजार आउन नसक्दा बारीमै कुहिएका छन् भने उपभोक्ताहरुले महंगोमा खरिद गर्नु पर्ने अवस्था आएको छ ।
स्वास्थ्य प्रति सजग रहँदै सरकारले गरेको लकडाउन उचित भएपनि यसलाई कसरी व्यवस्थित र भरपर्दो बनाउने तिर सोच्न नसकेका कारण सर्वसाधारणहरु समस्यामा परेका हुन् ।
विगत वर्षहरुमा नयाँ वर्षमा निकै चहल पहल हुने राजधानीका धार्मिकस्थल, पीकनिकस्थल तथा बजारहरु सुनसान छन् । सर्वसाधारणले घर घरमै बसेर नयाँ वर्ष मनाएका छन् ।
विश्वलाई नै चुनौती बनेको कोरोना भाइरसको त्रासले नेपालमा पनि सर्वसाधारणले खुलेर कुनै उत्सव, मेला वा भेटघाट गर्न पाएका छैनन् । हालसम्म विश्वमा १८ लाख ५६ हजार ८३१ जना कोरोना संक्रमित छन् भने यसकै कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार ३३२ पुगेका छन् । ४ लाख २८ हजार ३३३ जना निको भएका छन् । अझै १३ लाख १४ हजार ४५० जना उपचाररत छन् जस मध्ये ४९ हजारको अवस्था गम्भिर रहेको बताइएको छ । अवस्था दैनिक रुपमा जटिल बन्दै गइरहेकाले थप सर्तकता अपनाउनु जरुरी देखिएको छ ।