अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ-पासको व्यवस्था
बैसाख १ काठमाडौं _ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।
अनलाइन पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै उक्त विवरण रुजु गरेर पासकोड पठाउनेछ ।
सर्वसाधारणले वेबसाइटको नाम बिर्से भने १११२ मा नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइलमार्फत खाली एसएमएस पठाएपछि आउने लिंक क्लिक गरेर पनि व्यक्तिगत विवरण भरेर पठाउन सकिने जेनेक्स प्रालिका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए ।
सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि शुरु हुनेछ ।
मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।