सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा झडप
बैसाख १ सिरहा– सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । झडपका क्रममा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका एक जवान घाइते भएका छन् ।
सिरहा नगरपालिका–१९ सोहर्वास्थित नाकाबाट सोमबार बिहान १ जना भारतीय नागरिक हातमा ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्न खोजेका थिए । सशस्त्र प्रहरीले उनलाई नेपाल प्रवेश गर्न नदिइ भारततर्फ फिर्ता पठाएको थियो । उनी फिर्ता भएको केही समयमै करिब २० जनाको समूहमा आएका भारतीय नागरिकले सीमा क्षेत्रबाट २ मिटर नेपालतर्फ प्रवेश गरी सुरक्षाकर्मीको टोलीमाथि ढुङ्गामुडा प्रहार गरेका थिए ।
भारतीय नागरिकले प्रहार गरेको ढुङ्गामुडाबाट सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलका जवान राजनकुमार चौधरी घाइते भएका सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रविण कँडेलले जानकारी दिए ।
एसपी कँडेलका अनुसार सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गर्ने एक भारतीयलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका भारतीय नागरिकमा भारत महुलिया घर भएका मोहनकुमार यादव छन् । उनी भारतीय सीमा सुरक्षा बल ६७२ बटालियमा कार्यरत रहेका खुलेको एसपी कँडेलले जानकारी दिए ।