प्रधानमन्त्री–मुख्यमन्त्री बीच ‘कोरोना संवाद’ : लकडाउन छिट्टै अन्त्य नहुने निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओली र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारका विषयमा भिडियो संवाद भएको छ ।
प्रधानमन्त्री ओलीले सिहदरबारस्थित एक्सन रुमबाट ४ घण्टाभन्दा बढी समयसम्म मुख्यमन्त्रीहरूसँग संवाद गरेका छन् ।
संवादका क्रममा प्रधानमन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । भिडियो संवादमा मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएका प्रयास सकारात्मक रहेका र अझ समन्वयात्मक ढंगले अघि बढ्न जरुरी रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभयो,’ प्रेस सल्लाहकार थापाले जनाएका छन
भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने कुरा हुन नसक्ने जनाउँदै प्रधानमन्त्री ओलीले लकडाउनमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएका छन् ।