यी शीर्ष नेता जसको संसदमा फुटेन बोली
काठमाडौं, चैत २८ : संघीय संसदको पाँचौं अधिवेशन अन्त्य भएको छ। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन चैत २४ गते अन्त्य भएको हो। बैठक १०९ दिनमा ३५ घण्टा ३० मिनेट चलेको थियो।
तर, संसदको यो अधिवेशनको शून्य र विशेष समयमा अधिकांश शीर्ष नेताहरुले एक पटक समेत बोलेनन्। न त, विधेयकबारेको छलफलमा नै भाग लिए। यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा फागुन ३ मा संसदलाई सम्बोधन गरे।
तर, सत्तारुढ दलका कुनै पनि शीर्ष नेताले आफ्नो धारणा राखेनन्। यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेताहरुले समेत संसदमा आफ्ना कुरा राखेनन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदको यो अधिवेशनमा बोलेनन्। उनीसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेलको समेत यो पटक संसदमा वाक्य फुटेन।
यस्तै, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र ओनसारी घर्ती समेत पाँचौ अधिवेशनमा बोलेनन्। खासगरी कांग्रेसमाथि प्रतिपक्षी बलियो भएन भन्ने आरोप छ। संसदमै शीर्ष नेताहरुको प्रस्तुति फितलो छ। कांग्रेसका शीर्ष नेताहरु संसदमा बोल्दैनन्।
संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौ अधिवेशनमा दुई पटक बोले। पहिलो पटक सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि माघ १४ गते देउवाले रोष्ट्रममा पुगेर बधाई दिएका थिए भने फागुन १८ मा कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भ्रष्टाचारका मुद्दामा सरकार गम्भीर नभएको बताएका थिए।
तर, देउवाबाहेकका सबै शीर्ष नेताहरुले नबोलिकनै पाँचौ अधिवेशन सकिएको छ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला अन्य अधिवेशनमा झैं यो अधिवेशनमा पनि मौन रहे। पाँचौ अधिवेशनसम्म आइपुग्दा प्रतिनिधिसभाको यो कार्यकालमा उनी एक पटक मात्रै बोलेका छन्। सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भएपछि बधाई दिन उनी रोष्ट्रम पुगेका थिए। त्यस यता कोइराला मौन छन्।
यस्तै, उपसभापति विजयकुमार गच्छदार समेत पाँचौ अधिवेशनमा बोलेनन्। यद्यपी अधिवेशनको बीचमै बालुवाटार जग्गा प्रकरणमा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बित छन्।
कोषाध्यक्ष सीतादेवी यादव पनि यो अधिवेशनमा बोलिनन्। प्रकाशमान सिंहले पनि पाँचौ अधिवेशनमा मुख खोलेनन्। संसदमा एक्लो प्रतिपक्षी जस्तो देखिने गगन थापा एक पटक शून्य र एक पटक विषेश समयमा बोले। विधेयकका छलफलमा भाग लिनुका साथै उनले कोरोना भाइरससँग सम्बन्धित सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराए। प्रतिपक्षीको तर्फबाट सचेतक पुष्पा भुसाल र डिला संग्रौलाको भूमिका सन्तोषजनक रह्यो।
यस्तै, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पाँचौ अधिवेशनमा बोलेनन्। सोही पार्टीका अर्का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने दुई पटक बोलेका छन्। उनले माघ १४ मा सभामुखलाई बधाई दिएका थिए भने फागुन १४ मा मातातीर्थ आसपासको जग्गा मोही र जोताहा किसानलाई वितरण गर्ने गरी गरेको नीतिगत निर्णयबारेमा प्रष्टिकरण दिएका थिए।
यस्तै, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी समेत पाँचौ अधिवेशनमा बोलेनन्।
जो शून्य समयमा कहिल्यै बोल्दैनन्
निर्वाचन क्षेत्रका समस्या समाधान गर्न सांसदले सरकारलाई झक्झक्याउन पाउँछन्, निर्माणाधीन कानूनमा आफ्नो धारणा राख्न पाउँछन्। संसदमा आफ्ना क्षेत्रका गुनासो पोख्न उनीहरुलाई एक मिनेट शून्य समयको व्यवस्था छ। दलीय आधारमा छुट्ट्याइने विशेष समयमा पनि उनीहरुले आफ्ना गुनासा राख्न पाउँछन्।
तर, शीर्ष नेताहरु शून्य समयमा कहिलै पनि बोल्दैनन्। सत्तासीनसँग प्रमुख प्रतिपक्षी र साना दलका शीर्ष नेताहरु शून्य समयमा कहिलै बोल्दैनन्। सत्तासीन दलका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ, सुरेन्द्र पाण्डे, लालप्रसाद साँवा लिम्बू, जयकुमार राई, हेमकुमार राई, सुरेशकुमार राई, पम्फा भुसाल, पोल्देन छोपाङ गुरूङ, सोमप्रसाद पाण्डे, टोपबहादुर रायमाझी, विष्णु पौडेल, कमला रोका, हिराचन्द्र केसी, सन्तकुमार थारू, धनबहादुर बुढा, रवीन्द्रराज शर्मा, भीम रावल, लेखराज भट्ट, विजय सुब्बा, मुकुन्द न्यौपाने, गोमा देवकोटा, तीर्था गौतम, निरादेवी जैरु, ओनसरी घर्ती, चूडामणि खड्का कहिल्यै शून्य समयमा बोल्दैनन्।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, प्रदीप गिरी, मोहन आचार्य, प्रमोदकुमार यादव, अभिषेकप्रताप साह, विनोदकुमार चौधरी, कर्मा घले, किशोरसिंह राठोर, मानबहादुर विश्वकर्मा समेत शून्य समयमा बोल्दैनन्।
समाजवादी पार्टीका बाबुराम भट्टराई, रामसहायप्रसाद यादव, सूर्यनारायण यादव, रेनुकुमारी यादवले समेत अहिलेसम्म शून्य समयमा भाग लिएका छैनन्। राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, निर्जला राउतले भने शून्य समयमा बोलेका छैनन्।