नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि बस्दै
२४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सचिवालय बैठक बोलाएको छ । भोलि ४ बजे बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामाग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको नेकपाभित्र असन्तुष्टि छ । पछिल्लो समय नेकपामा नेताहरुले सचिवालयको बैठक बोलाउन माग गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन । कोरोनाको महामारी लगायतका विषयमा सरकारले गरिरहेका कामबारे जानकारी लिने बैठकको एजेण्डा रहेको छ ।