कोरोना को कहरमा बलिउड कलाकारमा सहयोगको लहर
मुम्बई । बलिउडका स्टार कलाकारहरू सलमान खान, शाहरुख खान, अक्षय कुमार, प्रवास, चिरञ्जीवीलगायतले सरकारलाई मन खोलेर आर्थिक सहयो गरेपछि विभिन्न अभिनेत्री र अभिनेत पनि सहयोगमा उत्रिएका छन् ।
अहिले कोरोना भाइरस विरुद्ध भारत सरकारले स्थापना गरेको कोषमा रकम राख्दै आएका छन् । यसै क्रममा अभिनेत्री रानी मुखर्जीले पनि प्रधानमन्त्री कोषमा आफ्नो कम्पनी यसराज फिल्मसको तर्फबाट १ करोड ५० लाख भारतीय रुपैयाँ प्रदान गरेकी छन् ।
भारमा बढ्दो कोरोना संक्रमणका कारण यतिबेला सबैले कोरोनाविरुद्धको कोषमा सहयोग गर्नुपर्ने अपिलसहित यी अभिनेत्रीले यो रकम प्रदान गरेकी हुन् ।
यस्तै, उनले बलिउडमा आफ्ना मातहतमा काम गर्ने ३ हजार सिने मजदुर (लाइट म्यान, कार्पेन्टर, जुनियर आर्टिस्ट, स्पट ब्वाय)को खातामा जनही ५ हजार रुपैयाँ जम्मा गर्ने बताएकी छन् । उनले ती सबै सिने मजदुरको खाता नम्बर संकलन गरेर बैंकमार्फत उनीहरूको खातामा पैसा हालिदिने काम पनि भइरहेको यी अभिनेत्रीले बताइन् । सिनेकर्मी तथा अन्यबाट अहिलेसम्म खाद्यान्न मात्र प्राप्त भएकोमा त्यसलाई पकाउन ग्याँसदेखि अन्य समस्या प्राविधिकहरूलाई पर्ने भएकाले उनीहरूको खातामा पैसा जम्मा गर्न सुरु गरेको पनि अभिनेत्री रानी मुखर्जीको कथन छ ।
बलिउड अभिनेता बिक्की कौशलले पनि प्रधानमन्त्री कोषमा आफ्नो तर्फबाट एक करोड रुपैयाँ सहयोग गरेका छन् । अहिले सबैमा एकताको आवश्यक भएकाले सबैलाई धैर्यसँग बस्न पनि यी अभिनेताको अपिल रहेका छन् ।
अर्का अभिनेता कार्तिक आर्यन पनि कोरोना विरुद्धको लडाइँमा सरकारलाई आर्थिक सहयोग गर्न पछि परेका छैनन् । उनले शनिबार प्रधानमन्त्री कोषमा १ करोड भारतीय रुपैयाँ जम्मा गरेको बताएका छन् । यी अभिनेताले पनि आफ्ना प्रशंसकलाई अहिलेको अवस्थामा घरभित्रै सुरक्षित बसेर आफ्नो फिल्म हेर्न अनुरोध गरेका छन् ।
अभिनेता वरुण धवनले पनि ५५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले सो रकम आफूले प्रधानमन्त्री र महाराष्ट्र मुख्यमन्त्रीको कोषमा जम्मा गरेको बताएका छन् । अहिलेको अवस्थामा सबैलाई घरमै बसेर आफूलाई सुरिक्षत राख्न अभिनेता वरुणले अपिल गरेका छन् ।
बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले आफ्ना पति राज कुँद्रासँग मिलेर प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेकी छन् । अरू अभिनेत्रीले आर्थिक सहयोगबारे खुलासा नगरेको अवस्थामा यी अभिनेत्रीले आफूले २१ लाख भारतीय रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको बताएकी छन् ।
सानो पर्दामा चर्चा बटुलेका हास्य अभिनेता कपिल शर्माले आफ्नो र कपिल शर्मा सोका तर्फबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको बताएका छन् । सानो पर्दामा चर्चा कमाएका अभिनेता मनीष पलले पनि २० लाख भारतीय रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको बताएका छन् । गायिका लता मंगेशकरले पनि २५ लाख भारतीय रुपैयाँ प्रधानमन्त्री कोषमा सहयोग गरेकी छन् ।
यस्तै, बालाजी फिल्मसकी सञ्चालक तथा बलिउड निर्माता एकता कपुरले पनि आफ्नो एक वर्षको तलब २ करोड ५० लाख भारतीय रुपैयाँ बालाजी फिल्मसमा कार्यरत करिब ४ हजारभन्दा बढी सिने मजदुरलाई प्रदान गरेकी छन् । उनीहरूको खातामा दामासाही आफ्नो कम्पनीले यो सहयोग रकम हालिदिने पनि निर्माता एकता कपुरले बताइन् ।
टी सिरिजका सञ्चालक तथा अभिनेता भूषण कुमारले दिल खोलेर आफ्नो र कम्पनीका तर्फबाट सहयोग गरेका छन् । उनले प्रधानमन्त्री र महाराष्ट्र मुख्यमन्त्रीको कोषमा ११ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।