उच्चस्तरीय समन्वय समितिको बैठक ५ बजे बस्दै, बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने तयारी
काठमाडौं, २३ चैत्र । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज साँझ ५ बजे बस्दैछ । लकडाउन प्रभावकारी रुपमा कार्यावयन गर्नेदेखि लिएर यसको अवधि थप्नेबारे आजको बैठकमा छलफल हुने बुझिएको छ । हिजो तीन जना नयाँ संक्रमित देखा परेपछि सरकारले थप सावधानी अपनाएको छ । सरकारले बन्दाबन्दीको आदेश कार्यान्वयनमा प्रभावकारी कदम चालेको छ ।
हिजो बसेको मन्त्रिपरिषदका बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । एक स्थानीय तहबाट अर्को तहमा जानसमेत रोक लगाएको छ । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले कोभिड–१९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए। बाहिरबाट आएका व्यक्तिबाट कोरोना सङ्क्रमित देखिन थालेको परिस्थितिको मूल्याङ्कन गर्दै उक्त कदम चाल्ने सरकारले निर्णय गरेको हो।
कैलाली, कञ्चनपुर र बाग्लुङमा केही नयाँ केश देखिएपछि सरकारले थप व्यक्ति सङ्क्रमित नहुन भनी ती जिल्लामा छिटो विधिबाट सम्भाव्य व्यक्तिको ‘र्यापिड टेष्ट’ को प्रक्रिया अघि बढाउने समेत हिजोको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । आज बस्ने उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कम्तिमा एक साता लम्ब्याउनेबारे मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने बुझिएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार लकडाउन २०७७ साल बैशाख ३ गतेसम्म कायम राख्ने सरकारको तयारी छ ।