कोरोना संक्रमणको पुष्टि भएर उपचार गराइरहेका पाँचै जनाको स्वास्थ्य अवस्था समान्य
काठमाडौं- नेपालमा कोरोना संक्रमणको पुष्टि भएर उपचार गराइरहेका पाँचै जनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले नियमित रूपमा आयोजना गर्ने मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्।
नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमणको पुष्टि भएपनि एक जना उपचार पछि निको भइसकेका छन्। हाल काठमाडौंको टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बाग्लुङ अस्पतालमा २ जना र धनगढीस्थित सेती प्रादेशिक अस्तपालमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
हाल देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको समेत डा देवकोटाले जानकारी दिए। यसका साथै बिहीबार मात्रै कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङको काम समेत भइरहेको उनले बताए।
गत चैत ४ गतेको कतार एअरको फ्लाइट क्युआर ६५२ बाट नेपाल आएका ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो। काठमाडौंकी एक युवतीको राजधानीको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। सोही उडानमा नेपाल आएका बागलुङका २ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यसैगरी दुबईबाट नेपाल आएका एक युवामा पनि कोरोना संक्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अर्का धादिङका युवामा पनि कोरोना संक्रमणको पुष्टि भएको र उनको हाल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।
यसअघि चीनबाट नेपाल फर्किएका एक युवामा पनि कोरोनाको संक्रमण भएको पाइएको थियो। हाल उनी निको भइसकेका छन्।