अमेरिकामा कोरोना भाइरस : भुसको आगो झैँ फैलदै
काठमाडौँ । भुसमा आगो सल्किदा निभाउन कठिन हुन्छ । एकातिर निभाउँदै गयो । अर्कोतिरबाट फेरि सल्कदै जान्छ । त्यसैले त्यो भुस कतिखेर खरानी भो पत्ता पाउन पनि मुस्किल पर्छ । हो अमेरिकामा यतिखेर त्यस्तै भएको छ । कोरोना भाइरसको माहामारी भुसको आगो झै फैलिएको छ ।
दश जनवरीमा पहिलो पल्ट वासिङ्टन स्टेटमा कोरोना भाइरसको पुष्टि भयो । त्यसको दुई महिनासम्म पनि त्यति सारो संक्रमण फैलिएको थिएन् । चीनको वुहानमा देखिएको र त्यहाँ बढि फैलिएकाले अमेरिकासम्म त्यसको कहर पुग्नसक्छ भन्ने कल्पना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिएनन् । त्यो बेलाको त्यो झिल्को वासिङ्टन स्टेटबाट न्यूयोर्कहुँदै विभिन्न शहरमा यसरी सल्कियो अहिले निभाउनै गाह्रो भैसकेको छ ।
यतिखेर विश्वका २०३ देशमा कोरोनाको फैलावट पुगिसकेको छ । विश्वकै शक्तिराष्ट्र अमेरिकामा कोरोनाले पनि आफ्नो शक्ति देखाउँदै २ लाख १५ हजार ३ सय जनालाई संक्रमित बनाइसकेको छ । तिब्रगतिमा मृत्युदर पनि संक्रमणसँगै ह्वात्तै बढेको छ । हालसम्म ५ हजार ११२ जनाको मृत्यु भैसकेको छ । हरेक दिन एकहजार बढिले ज्यान गुमाइरहेका छन् । हजारौँ संक्रमित भैरहेका छन् । निको हुनेको संख्या जम्मा ८ हजार ८७८ छन् । संक्रमितको तुलनामा यो चार प्रतिशत हाराहारी हो ।
अमेरिका पछ्याउँदै इटलीमा संक्रमणको संख्या बढ्दो छ । त्यहाँ १ लाख १० हजार ५७४ संक्रमित मध्ये १३ हजार १५५ ले ज्यान गुमाएका छन् । यो विश्वमै सबैभन्दा बढि कोरोना संक्रमितको मृत्यु हो । त्यसपछि स्पेनमा १ लाख ४ हजार ११८ मध्ये ९ हजार ३८७ को मृत्यु भएको छ । जर्मनीमा ७७ हजार ९८१ मध्ये ९३१ को मृत्यु भएको छ । त्यसपछि फ्रान्समा ५६ हजार ९८९ मध्ये ४ हजार ३२ ले ज्यान गुमाएका छन् । सुरुवाती चरणमा चर्को मृत्यु दर रहेको इरानमा स्थिर छ । त्यहाँ ४७ हजार ४९३ मध्ये ३ हजार ३६ ले ज्यान गुमाएका छन् ।
युरोपमा भुसको आगो फैलिए झै फैलिएको कोरोना भाइरसको कहर अमेरिकाको विभिन्न शहरलाई गाँज्दै लगेको छ । संक्रमण न्यूयोर्कमा अत्यधिक बढेको छ । त्यहाँ मात्र ८३ हजार ९०१ संक्रमित छन् । यसै शहरमा २ हजार ११९ को ज्यान कोरोनाले लिइसकेको छ । न्यूजर्सीमा २२ हजार २५५ मध्ये ३५५को मृत्यु भएको छ । क्यालिफोर्नियामा ९ हजार ९३६ मध्ये २१५ जना, मिचिगनमा ९ हजार ३३४ मध्ये ३३७ जना, फ्लोरिडामा ७ हजार ७७३ मध्ये १०१ जना, मासाच्युटमा ७ हजार ७३८ मध्ये १२२, इलिनोइसमा ६ हजार ९८० मध्ये १४१, लुसियानामा ६ हजार ४२४ मध्ये २७३, पेन्सलभेनियामा ६ हजार २ मध्ये ७४, वासिङटनमा ५ हजार ९८४ मध्ये २५४को मृत्यु भएको छ । पछिल्लो समय क्यालिफोर्निया र वासिङटन स्टेटमा नयाँ संक्रमितको संख्या बढ्दैछ । जर्जिया, टेक्सास, कोलोराडो,कनेक्टिकट, टनेसी, इन्डियाना, ओहियो, मेरिल्याण्ड, नर्थ क्यारोलिना, मिसौरी, विसकन्सिन, भर्जिनिया, एरिजोना, साउथ क्यारोलिना, नभाडा, अल्वामा, उटाह, ओरेगन, ओक्लाहोमा, मिनेसोटा, केन्टुकी लगायतका विभिन्न शहरमा संक्रमण फैलदो क्रममै रहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुवातमा कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर उडन्ते कुरा गरेका थिए । तर यतिबेला उनी सम्वेदनशिल बनेका छन् । चीनका राष्ट्रपति सी चिनफिङसँग नियन्त्रण गर्न सल्लाह लिइसकेका छन् । यतिबेला अमेरिकाले पहिले कहिल्यै सामना गर्नु नपरकेको ठूलो राष्ट्रिय परिक्षणमा रहेको अभिव्यक्ति उनले दिएका छन् । प्राणघातक भाइरसँगको युद्धमा रहेको टिप्पणी गर्दै उनले सामुहिक प्रयासबाट सामना गरिरहेको बताएका छन् ।
तर भनिएजस्तो कडाई देशमा गरिएको छैन् । अन्तराष्ट्रिय उडान केही समय अघि बन्द गरिए । तर पुरै लक डाउन गरिएको छैन् । जसका कारण एक शहरबाट अर्को शहरमा कोरोना भाइरसको यात्रा सहज बनेको छ । मेट्रो टे«न लगायतका सार्वजनिक सवारी यथावत छन् । काम गर्न जाने गइरहेका छन् । ठूला उद्योगधन्दा अझै चालु छन् । केही शहरमा भने स्कुल कलेज बन्द गराइएका छन् । तर सुपरमार्केट, ग्यास स्टेसन लगायतका सार्वजनिक क्षेत्रमा भिडभाड उस्तै छ ।
अमेरिकामा १ लाख देखि २ लाख ४० हजारसम्म कोरोना संक्रमणले मृत्यु हुन सक्ने अनुमान लगाइएको छ । यो अनुमानित संख्यामा विदेशबाट अमेरिका बसेको गणना गरिएको छैन । भौतिक र सामाजिक दुरी कायम नगरिनु, सावधानीका उपाय समयमै नअपनाउनु जस्ता कारणले यो विषम परिणाम आएको भन्दै विपक्षी दलले विरोध गरेका छन् ।
अझै पनि अमेरिका सतर्क छैन् । राहका प्याकेज घोषणा भएपनि नागरिकको हातमा पुगसकेको छैन् । लक डाउन गरेर संक्रमण न्यून गर्न खोजेको छैन् । जसका मूल्य अमेरिकी बासिन्दाले मृत्युका रुपमा चुकाउनु परेको छ ।
चीनको सफलता
अत्यधिक संक्रमण र मृत्यु दर चीनमा बढ्दा अन्यत्र भय बढेको थियो । चीन र त्यहाँका बासिन्दाको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको थियो । तर वुहानमा तत्काल लक डाउन गरेर घरभित्रै मानिसलाई राखेर उपचार गराउने पद्दती चीनका लागि निकै सहायक बन्यो । केही कष्ट र क्षति नागरिक, चिकित्सक र सरकारले अवश्य बेहोर्यो । तर भविष्यका लागि राम्रो पाठ उसले विश्वलाई पढाउन सफल बन्यो ।
अमेरिका, इटली, स्पेनपछि चौथो बढि संक्रमित देशका रुपमा यतिबेला चीन रहेको छ । पछिल्लो समय संक्रमणको संख्या घट्दो क्रममा छ । मार्च ३१ म ३६ नयाँ संक्रमण र ७ को मृत्यु भएको थियो । त्यसपछि अझ घट्दै छ । अहिलेसम्म ८१ ह्जार ५५४ संक्रमितमध्ये ३ हजार ३१२ को मृत्यु कोरोनाका कारण भएको छ । ७६ हजार ३२८ उपचारपछि निको भएर घरमा आराम गरिरहेका छन् । जम्मा ४६६ संक्रमित अलिक जोखिममा छन् । चीनले आफू सुरक्षित रहँदै आफ्ना मित्र राष्ट्रलाई कोरोनाको संक्रमणबाट जोगिने उपाय सिकाउदैछ । थप सहयोग र चिकित्सकीय सहायताका साथ अघि बढ्दैछ ।