११ सय ८४ जनाको नमूना परीक्षणः ६ संक्रमित, १०५ आइसोलेसनमा
काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को सन्त्रास बढेसँगै देश पूरै लकडाउन गरिएको छ।
योसँगै विदेशबाट आएका व्यक्तिको लगत संकलन र शंकास्पद बिरामीहरूको नमूना संकलन तथा परीक्षणको काम पनि चलिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजसम्म एक हजार १८४ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।
जसमध्ये ६ जनामा संक्रमण भेटिएको छ। संक्रमण भेटिएकामध्ये पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् भने बाँकी पाँच जनाको उपचार चलिरहेको छ।
संक्रमितमध्ये तीन जना कतार एअरवेजको उडान नम्बर क्यूआर ६५२ बाट ४ चैतमा नेपाल फर्किएका थिए।
डा. देवकोटाका अनुसार ४३ जनामा सकंलन गरिएको नमूना परीक्षण क्रममा छ।
हाल देशका विभिन्न अस्पतालमा १०५ जना आइसोलेसमा छन्। यसमध्ये १६ जना उपत्यकामा र ८९ जना उपत्यकाबाहिरका अस्पतालको आइसोलेसनमा रहेका छन्।
देशभरका विभिन्न अस्पतालहरूमा नमूना परीक्षण र स्बाव लिने काममा बृद्धि भइरहेको मन्त्रालयका प्रवा डा. देवकोटाले बताए।
उनका अनुसार बुटवल, सुर्खेत, धनगढी र हेटौँडामा उपकरण जडान भएर परीक्षण शुरू हुने अन्तिम तयारीमा रहेको छ।