भारतमा रहेका नेपाली कोरोना को उच्च जोखिममा
दस लाखभन्दा बढी नेपाली रहेको भारतमा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेका छन । भारतमा अहिले संक्रमितको संख्या एक हजार नाघेको छ भने २७ जनाको मृत्यु भइसकेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म भारतमा १ हजार २४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। संक्रमितमध्ये ९५ जनालाई निको भइसकेको छ।
आइतबारमात्र भारतमा ३७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ३ जनाको मृत्यु भएको थियो। भारतमा अहिले ९ सय २ जना कोरोनाका संक्रमित उपचारत छन्।
पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रमले गति लिएको छ। मार्च २ सम्मा भारतमा जम्मा ३ जनामा कोरोनाको सक्रमण देखिएको थियो। मार्च १० मा आइपुग्दा यो संख्या बढेर १५ पुग्यो। मार्च २० सम्म आइपुग्दा भारतमा कोरोना संक्रमितको संख्या ५५ पुगेको देखिन्छ। आइतबार अर्थात् मार्च २९ सम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २४ देखिएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३७, शनिबार १ सय, शुक्रबार १ सय ६०, बिहीबार ७०, बुधबार १ सय २१, मंगलबार ३७, सोमबार १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण भारतमा देखिएको थियो।
मार्च ११ सम्म भारतमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको थिएन। मार्च १२ मा भारतमा कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो। मार्च २० मा यो संख्या ५ पुगेको थियो। मार्च २९ मा भारतमा कोरोना संत्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ।
कोरोना भाइरस नियन्त्रण गर्न भारत सरकारले भारतलाई २१ दिनसम्म लक डाउन गर्ने निर्णय गरिसकेको छ। तर, कोरोना भाइरसका संक्रमित बढ्न भारतमा रोकिएको छैन। भारतमा १० लाखभन्दा बढी नेपाली रहेका छन्। ठूलो संख्यामा नेपालीहरु अहिले भारतबाट नेपाल फर्किसकेका छन् भने केही फर्किरहेका छन्। भारत र नेपाल दुर्व लकडाउन भए पनि नेपालीहरु भारतबाट हिँडेरै नेपाल आइरहेका छन्। नेपाली सेनाका अनुसार भारतबाट नेपाल आएका एक हजारभन्दा बढी नेपालीलाई अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको छ।