कोरोना महामारी : दक्षिण एसियामा के भइरहेको छ?
नेपाल
नेपालमा हालसम्म ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। एकजना उपचारपछि निको भएर घर फर्केका छन् भने दुई जनाको उपचार भइरहेको छ। कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सरकारले एक साताको लकडाउन घोषणा गरेको छ। मंगलबार लागू भएको लक डाउनको आज तेस्रो दिन हो। संक्रमित भेटिने क्रम नरोकिएमा यो अझै केही दिन बढ्ने निश्चित छ।
भारत
भारतमा २१ दिने लकडाउन लगाइएको छ। त्यहाँ लकडाउन लगाएको आज (बिहीबार) दोस्रो दिन हो। भारतमा ६ सय ३९ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ। नयाँ दिल्लीबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कश्मिर घाँटीसम्म पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगबार २१ दिनसम्मका लागि ‘लकडाउन’ घोषणा गरेका हुन्। यसअघि उनले एक दिने जनता कर्फ्यू घोषणा गरेका थिए। उक्त घोषणालाई जनताले अटेर गरेको र संक्रमण झन् फैलदै गएपछि मोदीले २१ दिने लकडाउन गरेका हुन्। संक्रमणको असर कम नभए उक्त लकडाउन अझै बढाउने सरकारको तयारी छ।
पाकिस्तान
पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ १ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको छ जसमध्ये सिन्ध प्रान्तमा मात्र ४ सय संक्रमित भेटिएको छ।
प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै चीनसँग सहयोग मागेका थिए। चीनले केही स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ।
बंगलादेश
भारतपछि अर्को प्रभावित देश हो बंगलादेश। बंगलादेशमा ३९ जना कोरोना संक्रमित पाइएको छ। बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो। आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि बंगलादेशमा नयाँ संक्रमित भेटिएका छैनन्।
श्रीलंका
दक्षिण एसियाली देशमध्ये श्रीलंका पनि एक सयभन्दा धेरै कोरोना संक्रमित भएको देश हो। श्रीलङ्कामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या १०२ पुगेको छ। त्यहाँ हालसम्म कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए। आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए। त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ।
माल्दिभ्स
माल्दिभ्समा १३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन।
भुटान
भुटानमा नेपालभन्दा कम २ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन्।
अफगानिस्तान
पाकिस्तान र भारतसँग सिमा जोडिएको अफगानिस्तानमा ८४ जनामा कोरोना संक्रमण देखिएको छ। २ जनाको मृत्यु भएको छ। पाकिस्तान र भारतसँग नजिकको कनेक्सन भएका कारण यहाँ संक्रमित बढ्ने भएकाले उसले सिमा बन्द गरेको छ।
सार्कबाट पहल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्स भएको थियो। उक्त कन्फ्रेन्समा कोभिड-१९ आपतकालीन राहत कोष स्थापना गर्ने सहमति भएको थियो। अहिले उक्त कोषमा करीब २ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ।
उक्त कन्फ्रेन्समा पाकिस्तानले सार्क क्षेत्रका स्वास्थ्य मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्स गर्नुपर्ने प्रस्ताव राखेको थियो। उक्त प्रस्तावबमोजिम नै दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रका स्वास्थ्य अधिकारीहरुबीच बिहीबार छलफल भएको छ।
भिडियो कन्फ्रेन्समा कोभिड-१९ आपतकालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान-प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तो संयन्त्र अप्रिल १३ सम्म कायम रहनेछ। स्वास्थ्यमन्त्रीस्तरमा भिडियो कन्फ्रेन्स नभए पनि ती देशका स्वास्थ्य अधिकारीहरुबीच कुराकानी भएको हो।