खाद्यान्न स्टोरहरु बन्द गराउँदा सर्वसाधारण मर्कामा
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा खुलेको किराना पसलसहित ग्यास, चामल र पानीको पसल पनि बन्द गराएको पाइएको छ । खाद्यान्न स्टोरहरु बन्द गराउँदा सर्वसाधारण मर्कामा परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका, कलंकली, बानेश्वर, ललितपुरका विभिन्न क्षेत्रमा खाद्यान्न स्टोरहरु पनि बन्द गराएको जनाएका छन् । बिरगंजमा हिजो नै १५० रुपैया मा बिक्री हुने आलू २०० देखि ३०० रुपैया मा ५ किलो बिक्री हुँदा उपभोक्ता मारमा परेका छन ।
सरकारले यसअघि अत्यावश्यक सामग्री तथा खाद्यान्न घरमा जोहो नगर्न निर्देशन दिएकाले स्टोर नगरेको तर अहिले किन्न पनि नपाएको भन्दै स्थानीय आक्रोशित देखिएका छन् ।
उता ललितपुरको हात्तीवन क्षेत्रमा पनि प्रहरीले पसलहरु बन्द गर्न लगाएको छ । २ जनाभन्दा बढी बाहिर नबस्न र घरमै बस्न प्रहरीले निर्देशन दिएको पाइएको छ ।
प्रहरीले पनि खाद्यान्न स्टोरहरु पनि बन्द गराएको स्वीकार गर्दै त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भइरहेको बताएको छ ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले अहिले खाद्यान्नलगायतका पसलमा पनि भीडभाड हुँदा जोखिम बढ्ने भएकाले कसरी खोल्न सकिन्छ र व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको बताए ।