विदेशबाट नेपाल आउने सबैलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन दिएको छ । आइतबार गृह मन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
‘होम क्वारेन्टाइन प्रभावकारी नदेखिएकाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरू प्रवेश गर्दाकै बखत कुन जिल्लाको कुन स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेबारे जानकारी लिई सीमा नाकामा कार्यरत स्थानीय निकायहरूले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ,’ प्रवक्ता शर्माले भने ।
विज्ञप्तिमा चैत मसान्तसम्म सिनेमा हल, डान्सबारलगायत बन्द गर्न, धार्मिक कार्यमा २५ जना बढी भेला नहुन, सार्वजनिक सवारीले सिट क्षमताभन्दा बढी यात्री नबोक्न, सार्वजनिक कार्यक्रम बन्द गर्न, शैक्षिक संस्था बन्द गर्न र भाइरसको संक्रमण भएमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क गर्नेलगायत १९ बुँदा छन् ।