रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यसरी सजग बनौँ
काठमाडौं । भनिन्छ नि ‘प्रिभेन्सन इज बेटर देन क्योर’ अर्थात् रोग लागेपछि त्यसलाई निको पार्ने कोसिस गर्नु भन्दा लाग्नै नदिने प्रयास गर्नुपर्छ ।
अक्सर हामी यहीँ आएर चुक्छौं । बिरामी भएर औषधी उपचारमा गर्ने खर्च यदि स्वस्थ्य खाना खान, स्वस्थ्य जीवनशैली बाँच्नमा खर्चिने हो भने धेरै रोगहरुबाट बच्न सकिन्छ । यसको मतलब अहिलेदेखि जिम जाने, डाइट प्लान गर्ने, महंगा खानेकुराहरु खाने होइन ।
हामीले दैनिक जीवनमा खाने दाल, भात, तरकारीको पनि मात्रा र गुणस्तर मिलाउनुपर्छ । हाम्रो आहारामा कुन तत्व अत्याधिक छ र कुन छैन भनेर मध्यनजर गर्दै शरीरको आवश्यकता अनुरुप भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन, खनिज आदि सम्पूर्ण पोषण तत्व मिलाएर खानुपर्छ ।
यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता अर्थात् मानव शरीरले रोगसँग लड्ने क्षमता । यसले हाम्रो शरीरलाई कुनै पनि रोग लाग्न बाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन खानुहोस् यी खानेकुरा :
सिट्रस फ्रुट
चिसो लागेपछि प्राय मानिसहरु भिटामिन सीको भर पर्छन् किनकी त्यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । भिटामिन सीले ह्वाइट ब्लड सेल वृद्धि गर्नमा मद्दत पु-याउँछ । संक्रमणहरुसँग जुध्ने क्षमताको वृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
सिट्रस फ्रुट अन्तर्गतका केही फलफूल यी हुन् :
कागती
सुन्तला
निबुवा
जुनार
अंगुर
भिटामिन सी हाम्रो शरीरमा न उत्पादन हुन्छ न त भण्डारन नै त्यसैले हरेक दिन यसको आवश्यकता पूरा गर्नलाई भिटामिन सीयुक्त फलफूल खान जरुरी छ ।
ब्रोकाउली
ब्रोकाउली भिटामिन र खनिजयुक्त हुन्छ । भिटामिन ए, सी, इ सँगसँगै फाइबर, एन्टी अक्सिडेन्ट लगायत पोषण तत्वहरु भएको ब्रोकाउली सबैभन्दा स्वस्थ्य तरकारीमध्ये एक हो ।
त्यसैले यसलाई सकेसम्म कम पकाउनुपर्छ अथवा काँचै पनि खान सकिन्छ ।
लसुन
संसारभरिको जुनसुकै देशको खानामा पनि लसुन प्रयोग हुन्छ । पुराना सभ्यताहरुले लसुनलाई संक्रामक रोगसँग बच्नमा प्रयोग गरेको पाइन्छ ।
राष्ट्रिय पूरक र एकीकृत स्वास्थ्य केन्द्रका अनुसार लसुनले रक्तचाप कम गर्न र रक्तसञ्चारमा पनि मद्दत पु¥याउँछ । यसले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ ।
अदुवा
हामीलाई सञ्चो नहुँदा प्राय घरेलु औषधीको रुपमा प्रयोग गरिने खाद्य वस्तु हो अदुवा ।
यसको प्रयोग प्राय घाँटीको समस्या भएको वेला गरिन्छ । साथै, वाकवाकी रोक्न पनि मद्दत गर्छ अदुवाले ।
यसमा शरीरमा ताप बढाउने र दुखाइ कम गर्ने क्षमता पनि हुन्छ ।
पालुङ्गो
पालुङ्गोमा भिटामिन सी मात्र नभएर एन्टी अक्सिडेन्ट बेटा क्यारोटिन लगायतका तत्वहरु हुन्छन् जसले शरीरमा संक्रामक रोगसँग लड्ने क्षमताको वृद्धि गर्दछ ।
यसलाई हल्का पकाउनुपर्छ ताकि यसमा भएको भिटामिन सी नष्ट नहोस् र भिटामिन ए लगायत अक्जालिक एसिडमा भएका तत्वहरु पनि रिलिज होस् ।
दही
दहीले रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा मद्दत पु¥याउँछ । तर, दही खाँदा बजारमा पाइने फ्लेभर हालेको, गुलियो बनाइएको भन्दा पनि सादा दही खानु उपयुक्त हुन्छ । बरु स्वादका लागि आफैले ताजा फलफूल काटेर हाल्न सकिन्छ ।
बेसार
प्राय हरेक खानामा रङ्गका लागि प्रयोग गरिने बेसार केवल रङ्गीन मसला मात्र होइन । यसले ‘इन्फ्लामेटरी’ रोग अर्थात् सुन्निनेसँग सम्बन्धित रोगहरु जस्तै टन्सिल, आस्थमा, हेपटाइटिस लगायत रोगसँग लड्न मद्दत पुयाउँछ ।
तुलसी
तुलसीले निम्न फाइदाहरु गर्दछ :
रोग प्रतिरोधात्मक क्षमताको विकास
बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा
चिसोबाट बच्नका लागि निकै उत्तम (यसको पात डाँठ जराको प्रयोग)
टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ
मुटुसम्बन्धी समस्या हुनेहरुले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ
मुख गनाउने समस्याबाट छुट्कारा
अंकुरित खानेकुरा
मुङ, चना, केराउ लगायत गेडागुडी तथा दालहरुलाई केही दिन भिजाएपछि तिनमा टुसा पलाउँछ ।
यसमा भएको भिटामिन सीले शरीरमा सेतो रक्तकोषहरुको सङ्ख्या बढाउँछ जसले रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छ । साथै यसमा उपस्थित भिटामिन एमा एन्टिआक्सिडेन्ट सम्बन्धी गुणहरू पाइन्छ जसले रोग विरुद्ध लड्न सक्ने क्षमता बढाउँछ ।
ड्राइ फ्रुट्स
चिसोसँगको लडाइमा शरीरलाई भिटामिन सी पछि भिटामिन इले सघाइरहेको हुन्छ । त्यसैले काजु, बदाम, पिस्ता जस्ता ड्राइ फ्रुट पनि प्रतिरोधात्मक क्षमताको वृद्धिमा अत्यन्तै लाभदायी हुन्छन् ।
मेवा
भिटामिन सीयुक्त अर्को महत्वपूर्ण फल हो मेवा । एउटा मेवामा एकदिनभरिलाई आवश्यक भन्दा २२४ गुणा बढी भिटामिन सी हुन्छ ।
मेवाले पाचन प्रणालीलाई पनि सुधार्छ ।
किवी
मेवाजस्तै किवी पनि निकै पोषणयुक्त फल हो । यसमा फोलेट, पोटासियम, भिटामिन के, भिटामिन सी लगायतका तत्व पाइन्छ । यसले ह्वाइट ब्लड सेल(सेतो रक्तकोष)को वृद्धि गराउँछ । सेतो रक्तकोषको मूख्य काम भनेकै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कायम गर्नु हो ।
शंख भएका जीव(शेलफिस)
यस्ता जीवमा हामीले रोगसँग लड्ने क्षमता पाउँछौं भन्दा अचम्म लाग्नसक्छ । तर, केही यस्ता जीवहरुमा जिन्कको मात्रा अत्यन्तै बढी हुन्छ ।
जिन्कलाई अन्य भिटामिन र खनिज तत्वजस्तो महत्वपूर्ण रुपमा नलिइएपनि यसले हाम्रो शरीरमा भएका प्रतिरोधात्मक क्षमता बढाउने कोषहरुलाई चलायमान राख्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । गंगटा, घुंगी, झिंगे माछा लगायत जीवमा यो तत्व पाइन्छ ।
अन्त्यमा, सकारात्मक सोचको विकास गर्ने । कतिपय अवस्थामा हामी मानसिक रुपमा स्वस्थ्य भयौं भने, सकारात्मक सोच राख्यौं भने पनि धेरै किसिमका शारीरिक समस्याहरु देखापर्दैनन् । हाम्रो मस्तिष्कसाग शरीरलाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।