‘मिस नेपाल–२०२०’ प्रतियोगिता तत्कालका लागि स्थगित
काठमाडौं । ‘मिस नेपाल–२०२०’ प्रतियोगिता तत्कालका लागि स्थगित भएको छ । वैशाख ३ गतेका लागि तय भएको प्रतियोगिता कोरोनाको त्रासका कारण अनिश्चित कालका लागि स्थगित भएको हो ।
“सरकारले गरेको निर्णय अनुसार हामीले पनि प्रतियोगिता केही समयसका लागि स्थगित गरेका छौं,” मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकार भन्छन्, “वैशाख १८ गतेसम्मका लागि सरकारले नै ठूलो समूहमा भेला नहुन भनेको छ । त्यसपछिको अवस्था हेरेर कहिले प्रतियोगिता आयोजना गर्ने हो निर्णय गर्ने छौं ।”
सरकारले चलचित्र घर, सांस्कृतिक केन्द्र, म्युजियम, बार तथा मनोरञ्जनस्थल बन्द गरेपछि आयोजकले प्रतियोगिता स्थगित गरेको हो ।
आयोजकले पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सकिसकेको आयोजकले आउँदो शनिबार काठमाडौंमा अडिसन गर्ने तयारी गरेको थियो ।
मिस नेपालको फाइनल आगामी वैशाख ३ मा काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो । सयौंको संख्यामा जम्मा भएर आयोजना हुने प्रतियोगिता २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएसँगै मिति सारिएको हो ।