कोरोना भाइरस : विश्व अर्थतन्त्र नै प्रभावित
काठमाडौं । चीनको उहानबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव बिस्तारै देखिँदै जाने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन । यतिबेला सन् २००९ यताकै सबैभन्दा सुस्त गतिमा विश्व अर्थतन्त्र चलिरहेको छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम घटेसँगै रेमिट्यान्स भित्रिन पनि छाडिसकेको छ । कोरोना प्रभावकै कारण नेपालको विकास निर्माणका गतिविधिमा ब्रेक लागेको छ । गत माघ मसान्तसम्म ७६ अर्ब रुपैयाँ विकास खर्च गरेको सरकारले त्यसपछिको एक महिनाको अवधिमा जम्मा २० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको छ ।
कोरोनाको असर नपरेको भए चालू आवका लागि विनियोजित विकास खर्चको लक्ष्य भेट्याउन सरकारले माघयता हरेक महिना न्यूनतम ५० अर्ब रुपैयाँ विकास खर्च गर्नुपर्ने थियो । कोरोना प्रभावकै कारण अहिले राजस्व संकलनको लक्ष्य र मुलुकको विकास खर्च दुवै खुम्चिएको छ । पर्यटकीय गतिविधि ठप्प भएका छन् । हवाई उडान धमाधम बन्द हुँदै जाँदा पाहुना आउन छाडेपछि होटेल सुनसान छन् । विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटक पनि कोरोना त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलको व्यपार ९० प्रतिशतसम्म घटेको छ ।
होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अकुपेन्सी औसत १० प्रतिशतभन्दा पनि न्यून दरमा झरेको छ । हानकी अध्यक्ष सिर्जना राणा होटल नाफामा चल्न कम्तीमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्ने बताउँछिन् । ५० प्रतिशतमाथि अकुपेन्सी पुगेपछि मात्र होटलमा राम्रो मुनाफा हुन्छ । तर, कोरोनाका कारण नेपाल सरकारले विभिन्न देशबाट भित्रिने पर्यटकमाथि लगाएको यात्रा प्रतिबन्ध र अन्य देशमा समेत हुने स्वास्थ्य सुरक्षासम्बन्धी झमेलाले होटलमा अकुपेन्सी करिब १० प्रतिशतमा झरेको हो ।
होटलमा बस्ने पाहुनाहरू कूटनीतिक नियोग, नेपालमा सक्रिय विभिन्न अन्तर्राष्ट्रिय नियोग तथा निकायका कर्मचारीसमेत हुन्छन् । राणाका अनुसार अहिलेकै अवस्था रहे होटलले प्रतिमहिना १ अर्ब ४० करोड रुपैयाँ घाटा बेहोर्छन् । नेपालमा अहिले होटलले करिब वार्षिक २५ लाख पर्यटक आउँदासमेत थेग्न सक्ने गरी क्षमता बढाएको दाबी व्यवसायीको छ । तर, यस वर्ष कोरोना भाइरस प्रभावकै कारण विश्वव्यापी रूपमा पर्यटक आवागमन घट्दा त्यसले नेपालमा गम्भीर असर पार्ने निश्चित भएको सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।
दैनिक आर्थिक गतिविधिमा आएको गिरावटको रफ्तार सन् २००९ कै अवस्थामा पुगेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन्स एन्ड डेभलपमेन्ट (ओईसीडी)को तथ्यांकमा उल्लेख छ । ओईसीडीको प्रक्षेपणअनुसार सन् २०२० मा आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिश मात्र रहने देखिएको छ । जुन गत नोभेम्बरको २ दशमलव ९ भन्दा पनि कम हो । ओईसीडीले कोरोना भाइरस संक्रमणको उच्च जोखिम र त्रास अझ लामो समय र गम्भीर रूपमा रहिरहने हो भने सन् २०२० मा आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
कोरोना भाइरसका कारण हाल विश्वभरका ठूला उद्योगले उत्पादन बन्द गरेका छन् भने कामदार घरमै बसेका छन् । जसको असर विश्व सेयर बजारका लगानीकर्तामा पनि देखिएको छ ।
न्यून व्यापारिक गतिविधिका कारण विश्वभरको ‘सप्लाई चेन’ प्रभावित भइसकेको छ । अहिले कोरोना भाइरसकै कारण ती उद्योग बन्द छन् भने निर्यात रोकिएको छ । चिनियाँ उत्पादनमा भर पर्ने डियागो, जेसिबी तथा निसानको सप्लाई चेन निकै प्रभावित भएको छ । ती कम्पनीका ३० करोड कामदार आप्रवासी भएकाले पनि उत्पादनमा असर परेको छ । ज्यागुआर ल्यान्डरोभरले पनि पार्टपुर्जाको अभाव भएपछि हवाई सेवामार्फत सुटकेसमा न्यून मात्रामा पार्टपुर्जा विभिन्न कारखानामा पठाएको छ । यसबाट विश्वको सप्लाई चेन कतिसम्म प्रभावित भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
कोरोना भाइरसको संक्रमण फैलिने डरले अहिले युरोपियन मुलुकका मानिस घर बाहिर निस्कन सकेका छैनन् । यसकारण त्यहाँका रेस्टुरेन्ट, कार डिलरसिप तथा पसल उपभोक्ताको मागमा आएको कमीका कारण बन्द भएका छन् । चिनियाँ कार निर्माता कम्पनीको बिक्री पनि अहिले ९२ प्रतिशतले घटेको छ । टेस्ला वा जिली जस्ता कम्पनीको बिक्री पनि अनलाइनमा मात्र सीमित छन् ।
यसैगरी, स्मार्टफोन ओसारपसारमा कोरोनाको प्रभाव देखिएको छ । कोरोनाले विश्वभरको पर्यटकीय गतिविधिमा प्रभाव पर्दा पर्यटकको संख्या ह्वात्तै घटेको छ । अहिले युरोप मात्र नभएर, अमेरिका, दक्षिण कोरिया, खाडी मुलुक र भारत लगायत अधिकांश देशले हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् भने कतिपय मुलुकले पर्यटकको आवागमनमा कडाइ गरेका छन् । इटली, स्पेन, फ्रान्स, बेलायत र अमेरिका सरकारले आफ्ना नागरिकलाई थप संक्रमण फैलिन सक्ने जोखिमबाट बचाउन ‘लक डाउन’ गरी वैदेशिक यात्राका लागि प्रतिबन्ध लगाएका छन् ।
अहिले विश्वभरका ट्राभल एजेन्सी तथा पर्यटकीय उद्योग नराम्रोसित प्रभावित भएका छन् । वायुसेवा कम्पनीहरूले धमाधम उडान कटौती गरिरहेका छन् भने पर्यटकले पनि व्यावसायिक भ्रमण र बिदाको प्याकेज स्थगित गरेका छन् । कोरोना त्रासकै कारण विश्वभरका ठूला सभा समारोह स्थगित गरिएको छ । कोरोना संक्रमणका कारण अहिले संसारभरका धेरै मानिसको रोजगारी गुमेको छ ।
उद्योगदेखि पूर्वाधारसम्म प्रभाव
नेपालमा उत्पादन हुने अधिकांश वस्तुको कच्चा पदार्थ भारतलगायत देशबाट आयात हुन्छ । कोरोनाकै कारण अहिले चीन र नेपालबाट धेरै सामान आयात हुने तातोपानी र रसुवागढी भन्सारनाका बन्द छन् । यी दुई नाका बन्द हुँदा तयारी वस्तु तथा औद्योगिक कच्चा पदार्थ आयात नराम्रोसित प्रभावित भएको छ ।
नेपालमा चीनबाट जलविद्युत् आयोजनाका लागि प्रयोग हुने ठूला उपकरणको आयात रोकिँदा जलविद्युत् आयोजनाको काममै बाधा परेको छ । यसैगरी, कोरोनाका कारण विभिन्न नाकामा कडाइ हुँदा भारतबाट हुने निर्यात पनि प्रभावित भएकाले फलामे डन्डीसहितका ठूला उद्योगका लागि ल्याइने कच्चा पदार्थ आयातमा समस्या भएको छ ।
पर्यटन क्षेत्रमा संकट
पर्यटन क्षेत्रमा कोरोना भाइरस प्रकोपको ठूलो प्रभाव देखिएको छ । जसका कारण सरकारले निकै महŒव दिएको नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम रद्द भएका छन् । काठमाडौं आउने विभिन्न वायुसेवाको उडान कटौती भएसँगै अहिले नेपाल भित्रिने पर्यटकको आवागमन ठप्प हुने अवस्थामा पुगेको छ । यसकारण अधिकांश होटलको बुकिङ रद्द हुन थालेका छन् । अहिले काठमाडौंलगायत मुलुकभरका होटलहरू जम्मा १० प्रतिशत अकुपेन्सीमा मात्रै सञ्चालनमा छन् ।
सगरमाथा लगायत विभिन्न हिमाल आरोहण रोकिँदा अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पर्यटन क्षेत्र नै शिथिल हुँदा यसको धेरै क्षेत्रमा असर परेको छ । यसले मुलुकको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरदेखि रोजगारी सिर्जनासम्ममा समस्या पारेको छ । कोरोना भाइरस प्रभावकै कारण अहिले यहाँका होटल र ट्राभल एजेन्सीलाई आफ्नो दैनिक खर्च सञ्चालनदेखि कर्मचारी पाल्न निकै मुस्किल हुन थालेको छ । बिस्तारै कर्मचारीलाई आधा तलब दिएर केही समय घरमा बसाउने तयारीमा रहेका व्यवसायीले अहिले कर तिर्ने समय बढाई पुनर्कर्जासहितको बृहत् राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री डा.य ुवराज खतिवडालाई भेटेर यस्तो माग गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय शीर्षकमा सरकारले ४२ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । वार्षिक करिब १ खर्ब रुपैयाँ आय हुने पर्यटन क्षेत्र अहिले कोरोना भाइरसबाट नराम्रोसित प्रभावित भएको छ ।