होलीमा घरमै बनाएको मदिरा पिएर धनुषामा थप चारको मृत्यु
जनकपुरधाम । अवैध घरेलु मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरधाममा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेका छन् ।
सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले जानकारी दिएका छन ।
गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी चिकित्सकहरुले दिएका । बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले मदिरा सेवन गरेको वडा अध्यक्ष जानकीराम साहले बताए ।
यसअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा घरेलु मदिरा पिउँदा ८ जनाको ज्यान गएको छ । बिहीबार तीनजना, शुक्रबार चारजना र शनिबार एकजना गरी जम्मा ८ जनाको ज्यान गएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, सोही स्थानका ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी मण्डलको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।
क्षिरेश्वर नगरपालिका १ का ३६ वर्षीय रामनारायण मण्डल, सोही ठाउँ बस्ने २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल र धनुषाकै जनकपुरधाम उप–महानगरपालिका देवपुरा रुपैठा स्थायी घर भइ ससुराली सपही बस्दै आएका ३० वर्षीय राजु महरा र ६० वर्षीय श्रीदेव यादवको मृत्यु भएको छ ।
सपहीका स्थानीयका अनुसार दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सुत्ने वर्षौंदेखिको दैनिकी भएका मानिसहरूको मृत्यु भएको हो । उनीहरू प्रायः सबैको टाउको दुख्ने, बान्ता हुने, छटपट्टी भएर मृत्यु भएको स्थानीय शत्रुधन यादवले जानकारी दिए ।
घरेलु मदिरा सेवनले सोही स्थानका २२ वर्षीय भरत सदा, २३ वर्षीय प्रदिप सदा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफको रमैदया स्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन । यसैगरी ३७ वर्षीय रामईश्वर महरा, ५० वर्षीय सिताराम यादवको जनकपुर स्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा भइरहेको छ ।