कोरोना भाइरस : सातै प्रदेशमा प्रयोगशाला बनाइने, ‘फास्ट ट्र्याक’बाट मास्क खरिद गरिने
काठमाडौं- कोरोना भाइरस परीक्षणका लागि सरकारले सातै प्रदेशमा प्रयोगशाला निर्माण गर्ने भएको छ। आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निकट भविष्यमा सातै प्रदेशमा ‘बिएसएल टुल लेभल’को प्रयोगशाला बनाउने योजनाको साथ अगाडि बढ्ने निर्णय गरेको हो। यस खालको प्रयोगशाला अहिले काठमाडौंमा मात्रै छ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले दिएको जानकारी अनुसार समितिले प्रवेशमै रोक लगाउने तथा सचेतना अपनाउने लगायतका रणनीति तय गरेको हो।
त्यस्तै, निगरानी र क्वारेन्टाइनको व्यवस्थापन अझ प्रभावकारी गर्दै लैजाने, बिरामीको उपचार र व्यवस्थापनलाई प्रभावकारी तुल्याउँदै लैजाने, त्यसका लागि संघ प्रदेश र स्थानीय तहबीच समन्वयात्मक ढंगले काम गर्ने, विभिन्न समूह र समुदायलाई परिचालन गर्ने रणनीति तय भएको छ।
नाकाको आवागमनलाई निगरानी र कडाइ गर्ने तथा स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुदृढ पार्दै लगिने भएको छ।
सरकारले मास्क तथा स्यानिटाइजर जस्ता अत्यावश्यक सामाग्रीहरुलाई बाह्य मुलुकबाट सार्वजनिक खरिद ऐनको विशेष बन्दोबस्तको आधारले संक्षिप्त पद्धति अपनाएर खरिद प्रक्रियामा अगाडि बढ्ने रणनीति तय भएको बिँडारीले जानकारी दिए।
अत्यावश्यक वस्तुको अभिलेख राख्ने र विपद् पर्दा सोही अभिलेखको आधारमा परिचालन गर्ने निर्णय पनि भएको छ।
आइतबारको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिसस महासंघका अध्यक्ष, प्रतिनिधि र उच्च पदस्थ सुरक्षा निकायका अधिकारी तथा कर्मचारीहरु लगायतको उपस्थिति थियो।
बैठकले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका तर्फबाट हालसम्म भएका कामकारबाही र गतिविधिहरूको समीक्षा पनि गरेको थियो।