नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे आशंकामा ४ सय ६४ जनाको स्वास्थ्य परीक्षण
काठमाडौँ– सरकारले नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे आशंकामा ४ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट जोगिन सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको परीक्षण गरिएका ४ सय ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
२०२० जनवरी ९ मा चीनबाट नेपाल आएका एक विद्यार्थीले जनवरी १३ मा परीक्षण गराउँदा पोजेटिभ देखिए पनि १० दिन हस्पिटल बसाईपछि पुनः परीक्षणमा नेगेटिभ देखिएको मन्त्री ढकालले बताए।
मन्त्री ढकालले सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आइसीयु वेड थप्ने तयारी गरेको बताए।
उनका अनुसार हाल काठमाडौँमा १ सय ७० वेडको आईसियु संञ्चालनमा छन्। उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काम भइरहेको उनले बताए। त्यसैगरी १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएकाे उनले बताए।
उनले सिडिओ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको समेत जानकारी दिए।
यस्तै उनले कूटनीतिक सम्बन्धभन्दा बाहेकका भिसाहरु वैशाख १८ गतेसम्मका लागि स्थगित गरिएको, अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाइए पनि नयाँ विद्यार्थी र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए।
उनले हाल नेपालका १ सय २९ नाका मध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसँग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरी आवश्यक सावधानी अपनाउन भनिएको बताए।
अन्तर्राष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आह्वान गरिएको मन्त्री ढकालले जानकारी दिए।