कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप
एजेन्सी, १ चैत्र । कोरोना भाइरसको संक्रमण पत्ता लागेको साँढे दुई महिना पुग्दा चीनमा संक्रमितको संख्या वृद्धि दर घट्दो छ । चीनले भाइरस फैलन रोक्ने रणनीतिमा धेरै सफलता हासिल गरेको सार्वजनिक गरिसकेको छ ।
चीनको वुआन क्षेत्रमा चीन सरकारले विशेष निगरानी र नियन्त्रण उपाय अपनाएर धेरै सफलता हासिल गरेको हो । तर, चीनमा कोरोना भाइरस संक्रमणको सुचना सार्वजनिकपछि चीनबाट यात्रा गर्नेलाई आफ्नो देश प्रवेशमा रोकेका देशहरु संक्रमणबाट जोगिएनन् । विशेषगरी युरोपमा यसको संक्रमण ह्वात्तै फैलिएको छ । युरोप सँसारकै मानिसहरु पुग्ने र बसाईंसराईंको केन्द्र भएकाले संक्रमणको खतरा आँकलन गरिएको थियो ।
विगतमा गरिएको आँकलन सही सावित भएको छ । अहिले युरोपमा कोरोना भाइरसको संक्रमण भयावह बन्नेतर्फ छ । सिंगो युरोपमा संक्रमण फैलिएको अनुपातलाई हेर्ने हो भने एक महिनाभित्र चीनलाई उछिन्ने देखिदैछ । चीनमा हालसम्म ८० हजार मानिस संक्रमित भइसकेका छन् । ११ वटामात्र नयाँ संक्रमित भेटिएका छन् ।
युरोपमा सबैभन्दा बढी इटालीमा कोरोना भाइरसको संक्रमण छ । त्यहाँ १७ हजार भन्दा बढी संक्रमित भएका छन् । इटाली सिंगो देश नै ठप्प छ ।
स्पेनमा एकै दिन १५ सय मानिस कोरोना भाइरस संक्रमित भएका छन् । त्यहाँ छ हजार संक्रमित भइसकेका छन् ।
बेलायतमा एकै दिन साँढे तीन सय संक्रमित भेटिएका छन् । त्यहाँ एक हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेदरल्याण्डमा संक्रमित संख्या एक हजार पुग्दैछ ।
फ्रान्स, जर्मनीलगायत युरोपमा बढी जनसंख्या भएका देशमा पनि कोरोना भाइरस फैलिइरहेको छ । जर्मन चान्सलर एन्जेला मार्कलले कुल जनसंख्याको ७० प्रतिशत भाइरस संक्रमित हुनसक्ने खतरा औल्याएकी छिन् । जर्मनीमा चार हजार संक्रमित भेटिइसकेका छन् ।
युरोपका अन्य देशमा पनि भाइरस फैलिइरहेको छ । भाइरसका कारण मानिसहरुको मृत्यु हुने क्रम पनि बढेको छ । स्वीटजरल्यान्ड र नर्वेमा एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् । युरोपका देशहरुमा दैनिक संक्रमित संख्या ह्वात्तै बढेको छ । यही गतिमा वृद्धि हुँदै जाने हो भने युरोपमा अबको एक महिनाभित्र चीनलाई उछिन्ने गरी संक्रमित बढ्नेछन् ।