विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरूद्धको तयारीमा के गर्दैछन् उद्योगी व्यवसायीका छाता संगठन ?
विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरूद्धको तयारीमा व्यापारीहरू आवद्ध संस्था चेम्बर अफ कमर्स सक्रिय छ भने उद्योगी व्यवसायीका ठूला संस्था एफएनसीसीआई र सिएनआई गुमनाम छन्।
काठमाडौं। नेपालमा एक जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा उपचारपछि ती संक्रमित निको भइसकेका छन्। विश्वका अन्य देशमा जस्तो तीव्र गतिमा संक्रमण फैलिइसकेको नभए पनि सबै पक्ष आवश्यक पूर्व तयारीमा जुटेका छन्। सरकार, सर्वसाधारण, उद्योगी तथा व्यवसायी कोभिड–१९ को संक्रमण नहोस् भनेर सतर्कता अपनाउन जुटेका हुन्।
तर, देशव्यापी सञ्जाल भएको उद्योगी व्यवसायीहरूको छाता संगठन भने यतिबेला निस्क्रिय प्रायः छन्।
उद्योगी व्यवसायीहरूका संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शमध्ये चेम्बर मात्रै कोभिड–१९ विरूद्धको पूर्व तयारीमा अग्रपङ्तीमा देखिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले भने अहिलेसम्म औद्योगिक व्यवसायीक क्षेत्र र आम सर्वसाधारणमा सचेतना अभिवृद्धी वा अन्य कुनै ठोस काममा एक पाइला पनि अघि बढेको छैन्। यीमध्ये नेपाल उद्योग वाणिज्य महासंघको देशव्यापी सञ्जाल छ।
नेपाल चेम्बर अफ कमर्स भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहेर सरकारलाई सहयोग गरिरहेको छ। चेम्बरसँग आबद्ध व्यवसायीहरूले नेपालमै मास्क उत्पादन गरेर बजारमा उपलब्ध गराइरहेका छन्। दैनिक १५ हजार थान मास्क उत्पादन गरेर बजारमा पु¥याउने काममा पनि चेम्बरसँग आवद्ध व्यवसायीहरू सक्रिय छन्। दैनिक उपभोग्यवस्तु बजारमा उपलब्धता र सहजिकरणमा पनि उनीहरूको भूमिका देखिएको छ।
चेम्बरसँग आवद्ध व्यवसायीहरू आफै पनि निरन्तर छलफलमा छन्। दैनिक उपभोग्य वस्तुका विक्रेतासँग छलफल गर्ने र त्यसको निश्कर्ष सरकारलाई जानकारी गराउने काम चेम्बरको नेतृत्वले गरिरहेको छ।
त्यसैगरी, चेम्बरले नेपाल सरकारका विभिन्न निकायहरुलाई मास्क, स्यानिटाइजर, थर्ममिटर गन, प्राइम किट, स्प्रिट, फुल गाउन, प्रिमियम सेट र ग्लोब जस्ता सामग्री हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्वास्थ्य सेवा विभागलाई कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्री पनि हस्तान्तरण गरेको छ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्का बेलामा कर्तव्य निर्वाह गरेको बताए। कोरोना संक्रमण हुन नदिन आवश्यक पूर्व तयारी गर्न चेम्बरले उपाध्यक्ष दीपक मल्होत्राको संयोजकत्वामा समिति नै बनाएको छ।
देशकै औद्योगिक क्षेत्रको नेतृत्व गरेका दुई ठूला संस्थाहरू एफएनसीसीआई र सीएनआई गुमनाम जस्तै छन्। नेपालमा मास्क तथा स्यानिटाइजर उत्पादन, ग्यास उद्योगी यिनै ठूला दुई संस्थामा आवद्ध छन्। अहिले बजारमा मास्क, स्यानिटाइजर र ग्यासको कालोबजारी भइरहेको छ। तर, एफएनसीसीआई र सीएनआईले ‘विपदलाई व्यापारमा बदल्ने’ उद्योगीका सम्बन्धमा एक शब्द बोलेको छैन्।
देशभर कोरोना भाइरस संक्रमणको त्रास फैलिएको बेला अत्यावश्यक वस्तुको उत्पादनमा सहजिकरण गर्नु यी व्यवसायीक संस्थाको प्रमुख कर्तव्य हो। सरकारसँग समन्वय गरेर अतिआवश्यक वस्तुको उत्पादनमा केन्द्रित हुँदा बजारको अभाव टर्न सक्थ्यो तर एफएनसीसीआई र सीएनआईको नेतृत्वले यसमा जिम्मेवारी महसुस नै गरेको छैन्।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष शतिश मोर औपचारिकताको भूमिका निर्वाह गर्दै भने, “हामी तत्काल देखिने भन्दा पनि दीर्घकालिन प्रभाव पार्ने प्रकृतिका काम गरिरहेका छौं।” ती काम के–के हुन त? भन्ने प्रश्नमा उनको स्पष्ट जवाफ आएन।
व्यवसायीहरूको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) आफ्नो साधारण सभाको भूमरीमा छ। एफएनसीसीआईमा आवद्ध उद्योग, व्यवसायीहरू कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायमा भन्दा पनि महासंघको कुन पदमा कुन उद्योगीलाई पुर्याउने भन्ने आन्तरिक जोड घटाउमा व्यस्त छन्। २८ र २९ चैतमा महासंघको ५४औं साधारणसभा बोलाएको छ। एफएनसीसीआई सम्बद्ध व्यवसायीहरूका लागि कोरोना महामारीभन्दा पनि निर्वाचनको आन्तरिक किचलो प्रधान विषय बनेको छ।