‘सूर्यवंशी’ को ट्रेलर रिलिजपछि नायिका कट्रिना कैफ यतिबेला पुन: चर्चामा
काठमाडौँ — फिल्म ‘सूर्यवंशी’ को ट्रेलर रिलिजपछि नायिका कट्रिना कैफ यतिबेला पुन: चर्चामा छिन् । त्यसो त रोहित सेट्टीको ‘कप्स एक्सन’ फिल्ममा नायिकाको खासै ठूलो भूमिका त हुँदैन, तैपनि उक्त फिल्मको ट्रेलरमा कट्रिनालाई आकर्षक रूपमा देखाइएको छ ।
बेलायतमा मोडलिङ गर्दागर्दै फिल्म खेल्न भारत आएकी कट्रिना त्यस्ती भाग्यमानी नायिका हुन्, जो कमजोर हिन्दीका बाबजुद पनि ठूला ब्यानरका फिल्ममा स्टारसँग नियमित स्क्रिन सेयर गर्न पाइन् ।
बेलायतमै मोडिलिङ क्रममा ‘नोटिस’ गरेपछि निर्देशक कैजाद गुस्तादले कट्रिनालाई सन् २००३ मै फिल्म ‘बुम’ मार्फत् डेब्यु गराएका थिए । तर फिल्म असफलताको दुर्भाग्य जति निर्माता, निर्देशकलाई पर्यो, कट्रिनालाई परेन ।
कट्रिनाले त्यसपछि पनि एक तेलुगु फिल्म खेल्न पाइन् भने बलिउडमा रामगोपाल बर्माले लिएर ‘सरकार’ बनाए । कट्रिनालाई सफलता भने सन् २००५ को फिल्म ‘मैने प्यार क्युँ किया ?’ ले दिलायो । डेबिड धवनले बनाएको उक्त फिल्ममा कट्रिना सलमानका साथमा देखिएकी थिइन् ।
कट्रिनाले यही फिल्मलाई नै आफ्नो बलिउडमा भएको पहिलो सही कदम बताउने गर्छिन् । त्यसपछि भने उनले अक्षय कुमारसँग लगालग ‘हमको दिवाना कर गए’ र ‘नमस्ते लन्डन’ रसलमानसँग ‘पार्टनर’, ‘हेल्लो’, ‘युवराज’ गर्दै ब्लकबस्टर्स हिट ‘बडिगार्ड’, ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘भारत’ मा को–एक्टरका रूपमा देखा परिन् । त्यसैगरी उनले शाहरूख खानसँग ‘जब तक है जान’ र ‘जिरो’ तथा हृतिक रोशनसँग ‘अग्निपथ’, ‘ब्याङ ब्याङ’ र आमिर खानसँग ‘धूम ३’, ‘ठग्स अफ हिन्दोस्ताँ’ मा स्क्रिन सेयर गरिन् । रणवीर कपुर र सैफअलि खानसँग पनि उनले काम गरिन् ।
कट्रिनालाई आलोचकहरू ब्लकबस्टर्स स्टार भए पनि गतिलो कलाकार भने नभएको टिप्पणी गर्ने गर्छन् । खास अभिनय र संवाद सम्प्रेषणको खुबी नभए पनि स्टारहरूसँग स्क्रिन सेयर गर्न पाएकैले उनका फिल्म चलिरहेको तर्क गरिन्छ । तर यस्ता कुराले उनलाई भने खासै असर नगर्ने जिकिर गर्दै भन्छिन्, ‘मेरो लक्ष्य नै स्टार बन्ने थियो । जब म करिअर सुरु गर्दै थिए, सबै मान्छेले मलाई रुचाउन र हेरुन् भन्ने म चाहन्थें । र, मलाई यो धारणा बदल्न रत्तिभर आवश्यक पनि लागेन ।’ अभिनेत्री हेमा मालिनीलाई आदर्श मान्ने कट्रिनाले आफूलाई अहिलेकै अवस्थामा ज्यादा खुसी मिलिरहेको बताइन् । पछिल्लो समय बलिउडमा महिला पात्र र विषय केन्द्रित फिल्महरूले ह्वीम पिटिरहेका छन् भने कैयौं नायिकाहरू रातारात स्टार भइरहेका छन् । कतिपय नायिकाहरू त बलिउडका बिग स्टार भनिने सलमान खान, शाहरूख खान वा आमिर खानसँग फिल्म खेल्दा छायामा परिने डरले उनीहरूका फिल्ममा नखेल्ने सार्वजनिक रूपमै भन्न थालेका छन् । तर कट्रिना आफूमा यस्तो ‘इगो’ नभएको बताउँछिन् ।
उनले शाहरूख, हृतिक, अक्षय वा सलमान आफ्ना साथीहरू भएको र सधैं आदर गर्ने उल्लेख गर्दै थप्छिन्, ‘म यस्ता कारण आफ्नो ‘इगो हर्ट’ किन गरूँ ? साथीत्वमा इगो हुनु हुँदैन । अनादार फरक पाटो हो । बरु तपाईंसोही स्थानमा उभिएर त्यसकाविरुद्ध लड्न सक्नुपर्छ । इगोले त कसलाई पो फाइदा गर्छ र ?’ पुलिस युनिभर्स फिल्म ‘सूर्यवंशी’ त कट्रिना अक्षयका अलावा अजय देवगण र रनवीर सिंहजस्ता चल्तीका नायकहरूसँगै छिन् । त्यसैले पनि नायकहरूको भीडमा हराउन सक्ने डरमा आफूलाई खासै फिक्री नरहेको बताउँछिन् ।
–एजेन्सी